Home मुख्य समाचार समय, जिन्दगी र सफलता

समय, जिन्दगी र सफलता

समय, जिन्दगी र सफलता यी तीन शब्दहरू केवल जीवनका सामान्य अङ्ग मात्र होइनन् । बरु यिनीहरू जीवनको सार र यात्राका अनिवार्य पाटाहरू हुन् । समय जीवनको आधार हो, जिन्दगी त्यसको प्रवाह र सफलता त्यस प्रवाहमा पाइने एक विशिष्ट मोती हो । मानवीय जीवनको प्रत्येक पाटो, प्रत्येक सपना र प्रत्येक सम्भावना यी तीनवटै तत्वसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । समय भनेको त्यो अदृश्य शक्ति हो, जसले जीवनलाई गति दिन्छ र जसलाई सम्हाल्न सक्नेले मात्र जिन्दगीको सही उपयोग गर्न सक्दछ । समयको कुनै आवाज छैन तर त्यसको प्रभाव अपार हुन्छ । समय आफैंँमा कुनै भावनाविहीन बहाव हो तर जब त्यसलाई चेतनशील मानिसले अर्थ दिन थाल्छ तब त्यो जिन्दगी बन्न पुग्छ । समयको महत्व बुझ्नका लागि कुनै विशिष्ट शिक्षाको आवश्यकता हुँदैन केवल अनुभूति र होस चाहिन्छ ।

हामीले जीवनको प्रत्येक दिन समयको सीमा भित्र बिताउँछौँ तर दुर्भाग्यवश हामीमध्ये धेरैले त्यसको मूल्य नबुझी त्यसलाई व्यर्थ खर्च गरिरहेका हुन्छौँ । मोबाइलको स्क्रिन, अनावश्यक गफगाफ या आफूले मन नपर्ने काममा समय बिताउनु यी सबै समयको अपमान हुन् । समयलाई सम्मान गर्नेको जीवन नियमित, अनुशासित र उद्देश्यपूर्ण बन्छ । समयलाई उपेक्षा गर्नेको जिन्दगी भने दिशाहीन, भोलिमा आश्रित र पश्चातापले भरिएको हुन्छ । समयले हामीलाई पर्खँदैन, हामी उसकै गतिमा हिँड्न विवश छौँ । त्यसैले समयप्रतिको सजगता, सचेतता र योजना नै मानिसको पहिलो सफलता हो । जसले आफ्नो दिनलाई सुव्यवस्थित बनायो, उसले आफ्नो जीवन निर्माण गर्ने शिलान्यास ग¥यो ।

अब कुरा गरौ जिन्दगीको । जिन्दगी केवल श्वासप्रश्वासको नाम होइन न त जन्म र मृत्युकै यात्रा । जिन्दगी त्यो अवसर हो, जुन समयले दिएको हो र जसलाई कसरी बिताउने भन्ने निर्णय हामी आफैंले लिनुपर्छ । जिन्दगीमा कहिलेकाहीँ असफलता आउँछ, धोका लाग्छ, मनको अपेक्षा पूरा हुँदैन तर यही नै जिन्दगी हो । मिठास मात्र नभई तितोपनासमेत साथ लिएर आउने यात्रा हो जिन्दगी । जीवनभित्रका दुःखहरूले मानिसलाई परिपक्व बनाउँछन् भने खुसीहरूले मानवता र आशा बाँड्ने प्रेरणा दिन्छन् । जिन्दगीलाई उद्देश्यहीन रूपमा बिताउनु भनेको बहुमूल्य उपहारलाई बिनाकारण फाल्नु सरह हो । हामी जन्मन्छौँ, हुर्कन्छौँ, सपना देख्छौँ र सफल बन्न चाहन्छौँ, तर त्यो चाहना मात्रले जिन्दगी सार्थक हुँदैन । जबसम्म हामीले समयको मूल्य बुझेर आफूलाई लक्ष्यमा केन्द्रित बनाउँदैनौँ तबसम्म जिन्दगी केवल घटनाहरूको सङ्ग्रह मात्र रहन्छ ।

जिन्दगी र समय दुवै हातमा हात मिलाएर हिँड्छन् । जसरी नदीको बहाव बिना पानीको अस्तित्व छैन, त्यसरी नै समय बिना जिन्दगीको गन्तव्य छैन । समयलाई सँगै लिएर अघि बढ्न सक्नेहरू नै सफलताको स्वाद चाख्न सक्दछन् तर यहाँ हामीले बुझ्नैपर्ने अर्को महत्वपूर्ण पक्ष हो सफलता । सफलता भनेको केवल ठुला पद पाउनु, धेरै पैसा कमाउनु वा समाजमा नाम कमाउनु मात्र होइन । सफलता भन्नाले आत्मसन्तोष, उद्देश्य प्राप्ति, मूल्यमा आधारित जीवन, अनि आफ्ना कर्तव्यप्रति इमानदार रहनु हो । हरेक व्यक्तिको सफलताको परिभाषा फरक–फरक हुन्छ । विद्यार्थीका लागि राम्रो अङ्क, कृषकका लागि राम्रो बाली, कलाकारका लागि प्रशंसा, शिक्षकका लागि विद्यार्थीको उन्नति र अभिभावकका लागि सन्तानको खुसी नै सफलता हो । तर जुनसुकै परिभाषा होस्, त्यसको जग भने सधैँ एउटै हुन्छ समयको सदुपयोग र जिन्दगीप्रतिको गम्भीर उत्तरदायित्व ।

हामी प्रायः सफल व्यक्तिहरूलाई हेर्छौँ र चकित हुन्छौँ, उनीहरूका उपलब्धि, प्रभाव, र प्रसिद्धिप्रति । तर के हामीले कहिल्यै त्यस सफलताको यात्रा कल्पना गरेका छौँ ? त्यो यात्रा जसमा असङ्ख्य असफलता, निन्दा, परिश्रम, रातभरको जागा र आत्मसङ्कल्प लुकेको हुन्छ । हरेक सफल व्यक्तिको पछाडि समयसँगको गहिरो सम्बन्ध, जिन्दगीप्रतिको समझदारी र अटुट आत्मबल हुन्छ । बिना निरन्तर प्रयास, बिना लगनशीलता र बिना त्याग कसैले पनि सफलता प्राप्त गर्न सक्दैन । संसारका सबै महान् व्यक्तिहरूले समयलाई धर्म माने, जिन्दगीलाई साधना बनाए र सफलतालाई उद्देश्य । आज तिनैको नाम इतिहासका पानामा चम्किरहेको छ ।

हामीले बुझ्नुपर्ने अर्को पक्ष चाहिँ यो हो कि समय कहिल्यै कहिल्यै रोकिँदैन । हाम्रो खुशी, हाम्रो पीडा, हाम्रो सफलता, हाम्रो सङ्घर्ष, यी सबै समयका पानामा लेखिँदै जान्छन् । हामी त केवल यात्रु हौँ, समय नै साँचो मार्गदर्शक हो । हामीले समयलाई बुझ्यौँ भने जिन्दगी सहज हुन्छ, समयलाई चुक्यौँ भने सफलताको ढोका बन्द हुन्छ समय कहिल्यै पर्खँदैन, यसले न भावनालाई बुझ्छ न बहानालाई । त्यसैले समयका प्रत्येक क्षणलाई उपयोग गर्न सक्नु नै हाम्रो साँचो बल हो । यो बलले नै हामीलाई लक्ष्यतर्फ अघि बढाउँछ, त्यो लक्ष्य चाहे सानो होस् या ठुलो, सपना पूरा हुन्छ ।

जिन्दगीको प्रत्येक पाटोमा सङ्घर्ष हुन्छ । हामी जतिसुकै सफल भइदिऊँ, हरेक चरणमा चुनौतीहरू आइरहन्छन् । चुनौतीहरू भनेका जीवनका शिक्षक हुन्, जसले हामीलाई बलियो बनाउँछन् । त्यसैले हार र विफलतालाई जीवनको अन्त्य मानेर होइन, नयाँ सुरुवातको ढोका सम्झनु बुद्धिमानी हो । समय हामीलाई नयाँ अवसर दिन्छ, जिन्दगी हामीलाई नयाँ मोडमा पु¥याउँछ र हामीलाई सफलता खोज्न प्रेरित गर्छ । जब हामी असफलताबाट नडराई, समयको महत्व बुझी, जीवनप्रति सकारात्मक दृष्टिकोण राख्दै अघि बढ्छौँ तब हरेक दिन एउटा सफलताको पाइला बन्छ ।

साँचो सफलताले व्यक्तिको आत्मविश्वास बढाउँछ । समाजमा प्रेरणा फैलाउँछ र जीवनलाई अर्थपूर्ण बनाउँछ । यस्ता सफलता प्राप्त गर्नका लागि योजना, अनुशासन, धैर्य र निरन्तर अभ्यास अनिवार्य हुन्छ । समय व्यवस्थापनका केही आधारभूत कुरा(दैनिक तालिका बनाउने, प्राथमिकता छुट्याउने, मोबाइल सोसल मिडिया जस्ता ध्यान हटाउने चिजहरूमा सन्तुलन राख्ने र प्रत्येक दिनको अन्त्यमा आत्ममूल्याङ्कन गर्ने, यी सबै अभ्यासले हामीलाई परिणाममुखी बनाउँछ ।

अन्ततः हामी भन्न सक्छौँ कि समय, जिन्दगी र सफलता जीवनका तीन अमूल्य गहना हुन् । समय हाम्रो साधन हो, जिन्दगी हाम्रो साधना र सफलता हाम्रो सिद्धि । जसले यी तीनलाई एकै डोरीमा गाँसेर अघि बढ्न जान्दछ, उसले न केवल आफ्नो जीवन उज्यालो बनाउँछ, बरु समाज र राष्ट्रलाई पनि प्रेरणा दिन सक्छ । हरेक दिन, हरेक क्षण एउटा अवसर हो, जुन समयले दिएको छ, त्यस अवसरलाई हम्मेसम्म सदुपयोग गरौँ, आफूलाई निरन्तर सुधार गर्दै, लक्ष्यप्रति अडिग हुँदै, जीवनलाई पूर्ण रूपमा जिउँ, यही हो साँचो सफलताको सार ।

Exit mobile version