Home अर्थ/व्यापार युवालाई नेतृत्व तहमा जोड्न सक्रिय : मन्त्री श्रेष्ठ

युवालाई नेतृत्व तहमा जोड्न सक्रिय : मन्त्री श्रेष्ठ

छलफलमा बोल्नुहुँदै मन्त्री श्रेष्ठ ।

हेटौँडा : बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले युवाहरुलाई नेतृत्व तहमा जोड्ने काममा प्रदेश सरकार सक्रियपूर्वक लागेको बताउनुभएको छ । उहाँले कृषिबालीको प्रयोग दैनिक जीवनमा अपरिहार्य भएकाले उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्न जरुरी रहेको बताउनुभयो ।

‘युवा रोजगार सिर्जना र कृषिमा सहभागिता : अवसर र चुनौती’ विषयक छलफलमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले विषादीरहित जैविक बाली उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । जैविक खेती प्रणालीमा सरकारले नीतिगत रुपमा व्यवस्था गरी अनुदानका कार्यक्रम अघि बढाउन जरुरी रहेको र सो विषयमा कृषकले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

‘किसानको मुहारमा हामी सधैं हाँसो देख्न चाहन्छौं । किसान खुसी भएमात्रै हामी खुसी हुन्छौं । किसानको मुहारमा हाँसो अपाएमात्रै उपभोक्ताको हाँसो आउँछ’, मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामी अहिलेको खेती प्रणाली बदल्न प्रयत्नरत छौं । परम्परागत र निर्वाहमुखी खेती प्रणालीले कृषि क्षेत्रको विकास र समृद्धि हुँदैन । हामीले आधुनिक र वैज्ञानिक कृषि प्रणाली, यान्त्रिकरणमा अघि बढ्न जरुरी छ । कृषि क्षेत्रमा विषादी र रासायनिक मलको प्रयोग उच्च छ । अहिलेको प्रमुख समस्याको रुपमा देखिएको विषादीलाई न्यूनीकरण गर्नु निकै चुनौतिपूर्ण छ । उत्पादन बढी हुने लोभमा प्रयोग भएको विषादी मानव स्वास्थ्य र वातावरणकै लागि हानीकारक छ । यसमा परिवर्तन ल्याउनुपर्छ ।’

सरकारको लक्ष्य स्वास्थ्यवद्र्धक, विषादीरहित उत्पादन उपभोक्ता समक्ष पुर्‍याउने रहेको उहाँले बताउनुभयो । त्यसका लागि कृषि उत्पादन गरेर निर्यातसमेत गर्न सक्नेगरी नीति बनाउन जरुरी रहेको उहाँको भनाई छ । प्रदेश सरकारले असल किसान कार्यक्रमार्फत सम्बन्धित स्थानीय तहको सिफारिसमा कृषकलाई अनुदान दिने गरी नीति ल्याएको उहाँले जानकारी दिनुभयो । छलफलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक प्राध्यापक डा. उदीत प्रकाश सिग्देल, चितवनमा कृषि उद्यमी शासन देवकोटा तथा इलामको फिक्कल नगरपालिकाकी अध्यक्ष पार्वती सुनुवारले आफ्नो धारणा राख्नुभएको थियो ।

Exit mobile version