Home मुख्य समाचार बागमती प्रदेशले मनायो भाषा दिवस

बागमती प्रदेशले मनायो भाषा दिवस

हेटौँडा : बागमती प्रदेशले प्रदेश भाषा दिवस मनाएको छ । नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको दिन बैशाख २४ गते बुधबार बागमती प्रदेश सरकारले हेटौँडामा विशेष समारोहको आयोजना गरेर प्रदेश भाषा दिवस मनाएको हो ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा बुधबार बिहान हेटौँडा–४, हुप्रचौरबाट प्रभातफेरीको आयोजना गरिएको थियो । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीसमेत प्रभातफेरीमा सहभागी हुनुहुन्थ्यो । प्रभातफेरीमा नेवारी, तामाङ, मगर समुदायको मौलिक पोशाक, बाजासहित सहभागी भएका थिए । हेटौँडा बजार परिक्रमापछि प्रभातफेरीमा सहभागीहरु हेटौँडा–४ स्थित रोयल प्यालेसमा सभामा सहभागी भएका थिए । पर्यटन मन्त्री ठकुरीको अध्यक्षता तथा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भाषा दिवस समारोह भएको हो । भाषा दिवसको अवसरमा मल्ल के सुन्दर र अजीतमान तामाङलाई सम्मान समेत गरिएको थियो ।

समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, नेवा देय् दवूका अध्यक्ष पवित्र बज्राचार्य, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको पनि आतिथ्य रहेको थियो । प्रदेश भाषा दिवसकै अवसरमा काठमाडौंमा पनि कार्यक्रम भएको छ । प्रदेश भाषा दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

Exit mobile version