हेटौँडा : बागमती प्रदेश सरकारले पर्यटन विकास आयोजना सहितका कार्यालयहरु खारेज गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले २ वटा पर्यटन विकास आयोजना र २ वटा पर्यटन कार्यालय खारेज गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको मंगलबार बसेको बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौं खारेज गर्ने निर्णय गरेको हो । बैठकले उपत्यका पर्यटन कार्यालय काठमाडौं र पर्यटन कार्यालय चितवनलाई खारेज गर्ने निर्णय गरेको हो । अस्थायी संरचनाको रुपका रहेको उक्त कार्यालयहरु खारेज गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त मन्त्रालयको संगठन संरचना तेरिज स्वीकृत गर्दै उक्त कार्यालयहरु खारेज गर्ने निर्णय गरेको हो । बैठकले उक्त कार्यालयहरुको विकल्पमा स्थायी संरचनाको रुपमा पर्यटन कार्यालहरु स्थापना गरेको छ ।
बैठकले प्रदेश राजधानी हेटौँडामा मन्त्रालय र एक कार्यालय रहने व्यवस्था गरेको छ भने अन्य ४ जिल्लाहरुमा कार्यालय राख्ने निर्णय गरेको हो । बैठकले हेटौँडासहित नुवाकोट दोलखा चितवन र काठमाडौंमा पर्यटन कार्यालय खडा गर्ने निर्णय गरेको छ । बैठकले प्रशासनका कर्मचारी प्रमुख रहनेगरी मन्त्रालय र मातहतका निकायमा साविकको ११७ जनाको दरबन्दीलाई घटाएर १०६ कायम गरेको हो । यसअघि २ वटा आयोजनामा प्राविधिक तर्फका इन्जिनिय र वन अधिकृत प्रमुख रहने व्यवस्था रहेको थियो ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको छ । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कम्प्युटर अपरेटर (सहायक पाँचौ÷अधिकृत छेठौं) लाई प्रशासनिक कर्मचारीको रुपमा प्रयोग गर्नेगरी दरबन्दी तेरिज स्वीकृत गरेको हो ।
