हेटौँडा : हेटौँडा–४ स्थित एक शैलुनलाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले इन्भर्टर र एयर कण्डिसन (एसी) दिन तोक आदेश दिएको विषयलाई लिएर बिहीबार बिहानैदेखि नगरप्रमुख मीना कुमारी लामाको सर्वत्र आलोचना भइरहेको छ ।
गत चैत २९ गते जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले ‘बार्बर, द नाइन्टिन सलोन’ नामक महिला र पुरुष दुबैलाई सेवा दिने गरी शैलुनको उद्घाटन गर्नुभएको थियो । शैलुन उद्घाटन कार्यक्रममा पुग्नुभएकी नगरप्रमुख लामाले शैलुनको सेवा समेत लिएर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । प्रतिवद्धताअनुसार शैलुनका सञ्चालकले बुधबार नगरप्रमुख मीना कुमारी लामालाई कार्यकक्षमै भेटेर इन्भर्टर र एसी सहयोगका लागि निवेदन दर्ता गराएका थिए । शैलुनका सञ्चालक सुसन घलानको निवेदन दर्ता गरी आर्थिक विकास महाशाखामार्फत उपमहानगरका अधिकारीलाई लागत अनुमान तयार गर्न तोकआदेश समेत भएको थियो ।
नगरप्रमुखको प्रतिवद्धताअनुसार सहयोगको प्रक्रिया अगाडि बढेको पत्र शैलुन सञ्चालक सुसन घलानले नै सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक गरेपछि सामाजिक फेसबुकमा तीव्र आलोचना भएको हो । घलानले सहयोगका लागि बुधबार नगरप्रमुखको कार्यकक्षमा भेटेर खिचाएको फोटो, तोक लगाएको पत्रसहित साँझ टिकटकमा सार्वजनिक गरेपछि नगरवासीले आलोचना गरेका हुन् । यसअघि नगरप्रमुख लामाले कपाल काट्ने, फेसियल गर्ने र नेल आर्ट गर्ने कार्य गरिदिएपछि नगरप्रमुख लामाले शैलुनको प्रचार गर्नुभएको भिडियो टिकटकमा सार्वजनिक भएको थियो ।
नगरप्रमुखले आधुनिक शैलुनका लागि इन्भर्टर र एसी जस्तो स्तरीय सेवाका लागि सहयोग गर्ने प्रतिवद्धताको आलोचना गरिएको हो । राज्यको ढुकुटीबाट ठाडो आदेशमा इन्भर्टर र एसी जस्तो वस्तु सहयोग गर्ने प्रतिवद्धतालाई सामाजिक सञ्जालमा आलोचना गरिएको हो । यता हेटौँडा उपमहानगरले एक विज्ञप्ति निकालेर शैलुनलाई सहयोग गर्नका लागि तोक लगाइएको विषयमा भइरहेको आलोचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । युवाहरुले उद्यमशीलता तथा रोजगारी प्रवद्र्धनका लागि सञ्चालन गरेका व्यवसायहरुलाई कानूनी र प्रक्रियागत मापदण्डभित्र रहेर प्रोत्साहन गर्ने नीति लिएको उपमहानगरपालिकाले जनाएको छ ।