Home मुख्य समाचार वनका सचिवले मयुरधाप औद्योगिक क्षेत्र तुहाउन खोजेः महेश बर्तौला

वनका सचिवले मयुरधाप औद्योगिक क्षेत्र तुहाउन खोजेः महेश बर्तौला

कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला

हेटौँडा ः नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले वनका सचिवहरुले मयुरधाप औद्योगिक क्षेत्रको योजना तुहाउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले मध्यवर्ती क्षेत्रको नाममा वनका सचिवले औद्योगिक क्षेत्र निर्माणको योजना तुहाउने काम गरिरहेको बताउनुभयो ।

हेटौंडामा शनिबार पत्रकारहरुसँगको भेटघाटमा मुख्य सचेतक बर्तौलाले देशको अर्थतन्त्र र नागरिकको रोजगारीसँग जोडिएको गौरवको आयोजना मयुरधापको औद्योगिक क्षेत्रलाई वन र निकुञ्जको विभिन्न प्रावधान लगाएर रोक्न खोजेको बताउनुभयो । क्याविनेटबाट पारित गरी सबै प्रक्रिया पूरा गरी कार्यान्वयनको चरणमा रहेको उक्त योजनाको औचित्य र आवश्यकताको विषयमा प्रश्न गर्दै वनको सचिवस्तरका कर्मचारीले रोक्ने काम गरेको उहाँको भनाई छ ।

‘गौरवको आयोजना संचालनमा निकुञ्ज र वनका कर्मचारीको दादागिरी देखिएको छ । मयुरधाप औद्योगिक क्षेत्रको योजना तुहाउने रणनीति अनुसार वनका सचिवले सूचना जारी गरिएको छ’, उहाँले भन्नुभयो, ‘२०७२ सालमा घोषणा भएर विभिन्न प्रक्रियासहित जग्गा भोगाधिकार समेत पाएर अघि बढेको सो आयोजनाको औचित्य र आवश्यकता बारे प्रश्न गर्दै वन र निकुञ्जको कर्मचारी पत्र जारी गरिएको छ ।’ औद्योगिक क्षेत्रका पुन सम्भाव्यता अध्ययन गर्नुपर्ने भन्दै गत पुस ९ मा सचिवस्तरको निर्णयसहित सार्वजनिक सूचना जारी हुनुले देशको सिस्टममा व्यूरोक्रेसीको दवदवालाई स्पष्ट पारेको उहाँले बताउनुभयो । मध्यवर्तीको नाममा लगातारको असहयोग सह्य नहुने उहाँले बताउनुभयो ।

मध्यवर्ती क्षेत्रमा परेको भन्दै मयुरधाप औद्योगिक क्षेत्र संचालन प्रक्रिया अगाडि बढाउन अवरोध हुने गरी वन मन्त्रालयबाट पत्र प्रेषित हुनु दुःखद् रहेको उहाँको भनाई छ । मयुरधाप औद्योगिक क्षेत्र संचालनमा ल्याउने र नयाँ उद्योग कलकारखाना स्थापना गरी रोजगारीका अवसरहरु सिर्जनाको वातावरण बनाउन सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

राजनीतिक नेतृत्व नीतिगत निर्णय विपरित कर्मचारीहरुबाट औद्योगिक क्षेत्रको विषयमा असहयोग हुनु उपयुक्त नरहेको उहाँले स्पष्ट पार्नुभयो । सो विषयमा जनस्तरबाट समेत बलियो खवरदारी अपरिहार्य रहेको मुख्य सचेतक बर्तौलाले बताउनुभयो । मयुरधापमा औद्योगिक क्षेत्र निर्माण गरेर नागरिकको आयस्तर सुधार गर्न युवाहरुलाई रोजगारी अवसर दिनु पर्ने उहाँको भनाई छ । मयुरधाप औद्योगिक क्षेत्र संचालनले रोजगारी सृजना मात्र नभई राज्यलाई अर्बौं रुपैयाँ राजस्व संकलनको अवस्था निर्माण हुने उहाँले बताउनुभयो ।

Exit mobile version