Home मुख्य समाचार सौराहामा हेटौँडा उपमहानगरको समीक्षा बैठक १० बुँदे निर्णय गर्दै सकियो

सौराहामा हेटौँडा उपमहानगरको समीक्षा बैठक १० बुँदे निर्णय गर्दै सकियो

जनप्रतिनिधिसँग छलफल कार्यक्रममा सहभागी नगरप्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम ।

हेटौँडा ः हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्षको समीक्षा, चालु आर्थिक वर्षको हालसम्मको समीक्षा गर्दै आगामी आर्थिक वर्षको कार्यादेशसम्बन्धमा जनप्रतिनिधिहरुसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । शनिबार साँझ अनौपचारिक छलफल गरेर आइतबार बिहान छलफल गरिएको हेटौँडा उपमहानगरपालिकाका अधिकारीले जानकारी दिएका छन् ।

शुक्रबार नगर सभा सदस्य समेतलाई सहभागी हुन आव्हान गरेर शनिबार साँझ र आइतबार बिहान छलफलको आयोजना गरेको हो । छलफलबाट १० बुँदामा निश्कर्ष निकालिएको हेटौँडा उपमहानगरपालिकाका अधिकृत भीमप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । छलफलमा प्रदेश सरकारसँग लागत सहभागितामा निर्माण गरिएको हेटौँडा–११, थानाभर्याङस्थित निर्माणाधिन फलफूल तथा तरकारीको थोक बजारमा प्रदेश सरकारको मन्त्रालय स्थापना गरिएको प्रति ध्यानाकर्षण गराइएको छ । कृषकका उपजको बजारीकरणका लागि निर्माण गरिएको संरचनामा मन्त्रालय स्थापना गर्नु उपयुक्त नभएको उल्लेख गर्दै निर्माण कार्य पूरा गरेर उपमहानगरपालिकामार्फत थोक बजार सञ्चालन गर्नुपर्ने निश्कर्ष निकालिएको छ ।

छलफलमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार खण्डको सडक विस्तार, एक सय भन्दा कम संख्यामा विद्यार्थी भएका विद्यालयलाई नजिकैको विद्यालय गाभ्ने र गाभिने विद्यालयका विद्यार्थीलाई यातायातको सुविधासहित नजिकको विद्यालयमा समायोजन गर्ने, भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई गाभेर ठूलो विद्यालय बनाउने, अति विपन्न थामी र चेपाङ समुदायका परिवारको निशूल्क स्वास्थ्य वीमा गरिदिने निर्णय भएको तिमल्सिनाले बताउनुभयो ।

उपमहानगरपालिकाको हालसम्मको उपलब्धीका विषयमा प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले प्रस्तुती राख्नुभएको थियो । छलफलमा प्रदेश सरकारका योजना एकद्वार प्रणालीबाट कार्यान्वयन हुन नसक्दा समस्या भएको जनप्रतिनिधिको भनाइ रहेको थियो । छलफलमा गुणस्तरीय पूर्वाधार निर्माणको विषयले पनि प्रवेश पाएको र हेटौँडा उपमहानगरपालिकाको प्रमुख क्षेत्रको विद्युतीय लाइनलाई भूमिगत गर्न आवश्यक भएकोप्रति जनप्रतिनिधि सुझाव दिएको बताइएको छ ।

नगर उपप्रमुख राजेश बानियाँले जनप्रतिनिधिसँगको छलफलबाट १० बुँदे निर्णय भएको र उक्त निर्णय प्रवक्तामार्फत सार्वजनिक हुने जानकारी दिनुभयो । छलफलमा महिलामुखी सहर निर्माण, राजमार्ग २५ मिटर विस्तार गर्ने विषयमा छलफल भएको उपप्रमुख बानियाँले बताउनुभयो । छलफलको विषयमा जानकारी लिन नगरप्रमुख मीना कुमारी लामासँग सम्पर्क गर्दा उहाँको मोवाइल उठेन । उपमहानगरपालिकाको वार्षिक समीक्षा र आगामी कार्यदिशाको विषयमा जनप्रतिनिधिसँगको छलफल सौराहामा आयोजना गरिएको विषयमा भने चौतर्फी आलोचना भइरहेको छ ।

Exit mobile version