Home अर्थ/व्यापार असोजको बाढी, पहिरोले मकवानपुरमा एक अर्ब ३० करोड बराबरको क्षति

असोजको बाढी, पहिरोले मकवानपुरमा एक अर्ब ३० करोड बराबरको क्षति

बाढीले कुलेखानी ड्यामभन्दा तल रहेको पुलमा पुर्याएको क्षतिको अवलोकन गर्नुहुँदै सरकारका प्रमुख सचेतक महेशकुमार बर्तौला ।

हेटौँडाः असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाले मकवानपुर जिल्लामा एक अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी, पहिरोले पुर्याएको क्षतिको विवरण पालिकासँग संकलन गरेर अनुमानित क्षतिको विवरण तयार पारेको प्रशासकीय अधिकृत सरोज पौडेलले जानकारी दिनुभएको छ ।

बाढी पहिरोमा परी मृत्यु भएका १५ जनाका परिवारले राहतस्वरुप जनही २ लाख रुपैयाँ प्रशासन कार्यालयबाट बुझेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार बाढी, पहिरोका घटनामा परी मृत्यु भएका मकवानपुरवासी र मकवानपुरमा शव बरामद भएका व्यक्तिका परिवारका लागि सरकारले जनही दुई लाख रुपैयाँका दरले राहत रकम वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेलले बाढी, पहिरोमा परी आवासीय घरमा पूर्ण क्षति भएका २२ परिवारले १५ हजार रुपैयाँका दरले राहत रकम बुझेका छन् । विपद् लगत्तै असोज १५ गतेबाट जिल्ला प्रशासन कार्यालयले राहत रकम वितरण गर्न सुरु गरेको थियो ।

बाढी पहिरोमा परी मकवानपुर जिल्लामा १२० वटा घर पूर्णरुपमा क्षति भएको, १८३ वटा घरमा आंशिक क्षति पुगेको तथ्यांक संकलन गरिएको छ । जिल्लाभित्रका राजमार्गका ५१ ठाउँमा क्षति पुगेको, पक्की तथा झोलुङ्गे पुल १६ वटामा क्षति पुगेको विवरण संकलन गरिएको अधिकृत पौडेलले जानकारी दिनुभयो । यस्तै २३ हजार ७९ रोपनी क्षेत्रफलको खाद्यान्नबालीमा क्षति पुगेको छ भने ४ हजार १ सय ३६ वटा पशुचौपाया मरेका छन् ।

बाढी, पहिरोले सबैभन्दा बढी ईन्द्रसरोवर गाउँपालिकामा क्षति पुगेको छ । ईन्द्रसरोवर गाउँपालिकामा ४०, बागमती गाउँपालिकामा १८, भीमफेदी गाउँपालिकामा १४, थाहा नगरपालिकामा १३, कैलाश र मनहरी गाउँपालिकामा ११/११, बकैया गाउँपालिकामा १० वटा, मकवानपुरगढी गाउँपालिकामा ५, हेटौँडा उपमहानगरपालिकामा ४ र राक्सिराङ गाउँपालिकामा ३ वटा घर पूर्णरुपमा क्षति पुगेको छ ।

यस्तै बकैया गाउँपालिकामा ५२, थाहा नगरपालिकामा ५१, ईन्द्रसरोवर गाउँपालिकामा २३, बागमती गाउँपालिकामा २२, मकवानपुरगढी गाउँपालिकामा १३, भीमफेदी गाउँपालिका १२, राक्सिराङ गाउँपालिकामा ६ र हेटौँडा उपमहानगरपालिकाका ४ घरमा आंशिक क्षति पुगेको विवरण तयार भएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले संकलन गरेको तथ्यांक संघीय सरकारलाई पठाउने र सरकारले उपलब्ध गराउने राहतका कार्यक्रम पीडित तथा प्रभावित क्षेत्रलाई वितरण गरिने उहाँको भनाइ छ ।

बाढी, पहिरोले पूर्वाधारको क्षेत्रमा पु¥याएको क्षतिका कारण मकवानपुर जिल्लाको प्रभावित क्षेत्रको जनजीवन अझै सहज हुन सकेको छैन । हेटौँडा–काठमाडौं छोटो मार्गमा पुगेको क्षतिका कारण यातायात सेवा प्रभावित बनेको छ । छोटो मार्गअन्तर्गत भीमफेदी कुलेखानी, फर्पिङ खण्ड र कान्तिलोकपथ सुचारु भए पनि जोखिमपूर्ण छ ।

Exit mobile version