Home मुख्य समाचार दलीय भागबण्डामा प्रतिष्ठानको पदाधिकारी नियुक्तिको तयारी, ऐन संशोधन नहुँदा नियुक्तिमा समस्या

दलीय भागबण्डामा प्रतिष्ठानको पदाधिकारी नियुक्तिको तयारी, ऐन संशोधन नहुँदा नियुक्तिमा समस्या

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी रिक्त रहेको २ महिना पुग्न लागेको छ । गत साउनदेखि प्रतिष्ठानको उपकूलपति (भिसी)सहित रजिष्ट्रार र संयोजक (पदाधिकारी) पद रिक्त रहेको हो ।

२०७७ साउन १६ मा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले प्रतिष्ठानको भिसीमा डा. विश्वराज जोशीलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो । कार्यकाल पूरा गरी डा. जोशी गत साउन १५ मा बिदा भइसक्नुभएको छ । उहाँसँगै भदौ १४ मा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई र संयोजक चिरञ्जीवी चुँडालको कार्यकाल पनि पूरा भएको छ । करिब दुई महिनादेखि प्रतिष्ठानको भिसी र एक महिनादेखि रजिष्ट्रार र संयोजक पद रिक्त रहेको छ । सो पदहरु रिक्त हुँदा प्रतिष्ठानको प्रशासनिक कार्य सञ्चालन शिक्षाध्यक्षको भरमा रहेको छ ।

भिसी रिक्त हुँदा नीतिगत निर्णय तथा अन्य महत्वपूर्ण कार्यहरु प्रभावित भएको छ भने रजिष्ट्रार र संयोजक नहुँदा प्रशासनिक तथा व्यवस्थापकीय कार्य प्रभावित भएको छ । अस्पताल व्यवस्थापन, नयाँ कार्यक्रमलगायतका विषय पनि प्रभावित भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को व्यवस्थाअनुसार हेटौंडा अस्पताल विकास समितिको अध्यक्षसमेत प्रतिष्ठानको रजिष्ट्रार हुनेछन् । रजिष्ट्रार रिक्त हुँदा अस्पतालको अध्यक्ष विहिन भएको हो ।

भागबण्डामा पदाधिकारी नियुक्तिको तयारी
विशेषगरी सत्तारुढ दुई दलहरुबिच सहमति जुट्न नसक्दा सो पदहरुमा नियुक्ति कार्य अघि बढ्न सकेको छैन । सो पदहरुको भागबण्डाका विषयमा सहमति जुट्न नसक्दा सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन ।

उक्त पदमा सत्तारुढ दल कांग्रेस र एमालेले भागबण्डामा नियुक्तिको तयारी गरेका छन् । उक्त विषयमा चरणबद्धरुपमा दुई दलले छलफल गरेर नियुक्तिको अन्तिम चरणमा पु¥याएको बताइएको छ । सत्ताधारी दलहरुबिचको सहमतिअनुसार दुई प्रमुख कार्यकारी पदमा एक÷एक वटा एमाले र कांग्रेसले लिने सहमति भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको भिसी एमालेले र रजिष्ट्रार कांग्रेसले पाउने गरी सहमति भएको छ ।

दुबै दलहरु सहमतिअनुसार उम्मेदवार छनोटमा केन्द्रित भएका छन् । एमालेबाट भिसीमा नियुक्तिको लागि व्यक्ति तयार भइसकेको र कांग्रेसबाट रजिष्ट्रारको उम्मेदवार चयन गर्ने चरणमा रहेको छ । पहिलो चरणमा क्याबिनेटबाट भिसी नियुक्त गर्ने र सोपश्चात् भिसीले रजिष्ट्रार र संयोजक नियुक्त गर्नेछन् ।

आगामी क्याबिनेटबाट नियुक्त गर्ने तयारी छः मन्त्री थापा
प्रदेश सरकारले प्रतिष्ठानको पदाधिकारी नियुक्तिको लागि तयारी अघि बढाइसेकको स्वास्थ्यमन्त्री किरण थापाले बताउनुभयो । आगामी क्याबिनेटबाट नियुक्ति गर्नेगरी प्रतिष्ठानको भिसी र त्यसलगत्तै रजिष्ट्रार नियुक्तिको तयारी सरकारले गरेको उहाँले बताउनुभयो ।

आवश्यक तयारीका लागि केही समय लिएको उहाँले बताउनुभयो । प्रक्रियागत रुपमा पदाधिकारी नियुक्तिको तयारी सरकारले गरेको उहाँको भनाइ छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार पहिले भिसी नियुक्ति गरेर अन्य पदाधिकारी पछि नियुक्त गर्ने व्यवस्था रहेकाले सोहीअनुसार भिसी नियुक्तिको तयारी गरिएको छ ।

‘आगामी क्याबिनेटबाट भिसीको नियुक्ति हुन्छ । हामीले प्रक्रिया पूरा गरी नियुक्तिको लागि सिफारिस गरेका छौं । ऐनअनुसार क्याबिनेटले भिसी नियुक्त गरेपछि अन्य पदाधिकारीको नियुक्ति हुन्छ’, मन्त्री थापाले भन्नुभयो– ‘राजनीतिक सन्तुलन भन्दा पनि विज्ञता र विषय केन्द्रित भएका व्यक्ति नियुक्ति गर्ने तयारी छ । हामीले सोही अनुसार भिसीको नियुक्तिका लागि क्याबिनेटमा पठाएका छौं ।’

मन्त्री थापाका अनुसार ऐन संशोधन नहुँदा प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या भएको हो । ऐनमा प्रतिष्ठानको सहकूलपति सामाजिक विकास मन्त्री हुने भनिएको र प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय रहेकाले कानुनी जटिलता देखिएको उहाँले बताउनुभयो । कानुनी अड्चन फुकाउन सामाजिक विकास मन्त्रीको सिफारिस र स्वास्थ्य मन्त्रीको सहमतिमा भिसी नियुक्त गरिने उहाँले बताउनुभयो ।

ऐन संशोधन नहुँदा समस्या
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन नहुँदा प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या देखिएको छ । प्रदेशमा विभागीय स्वास्थ्य मन्त्रालय कायम छ । तर प्रतिष्ठानको ऐनले न स्वास्थ्य मन्त्रालय चिन्छ, न स्वास्थ्य मन्त्री नै ।

त्यसो त प्रदेशमा स्वास्थ्य मन्त्रालय खडा गरिएको पनि ३ वर्ष पूरा भएको छ । ३ वर्षसम्म पनि प्रतिष्ठानको ऐन संशोधनमा न मन्त्रालयको ध्यान पुग्यो, न प्रदेश सरकारले चासो देखायो । ऐन अनुसार प्रतिष्ठानको कूलपति प्रदेशको मुख्यमन्त्री हुने व्यवस्था छ भने ऐनको दफा १७ मा उपकूलपतिको व्यवस्था गरेको छ । ऐनअनुसार प्रतिष्ठानको उपकूलपति सामाजिक विकास मन्त्री हुने भनिएको छ ।

त्यस्तै ऐनको दफा १८ मा उपकूलपति (भिसी) को व्यवस्था रहेको छ । उपकूलपति प्रमुख कार्यकारी रहने भनिएको छ । दफा १८ को (२)मा उपकूलपतिको नियुक्तिका लागि कूलपतिले सहकूलपतिको अध्यक्षमा थप २ सदस्य रहनेगरी सिफारिस समितिको गठन गर्ने व्यवस्था रहेको छ । दफा १८ (३) मा सहकूलपतिको अध्यक्षमा रहेको समितिले ३ जनाको नाम सिफारिस गरेअनुसार उपकूलपति (भिसी) नियुक्त हुने कानुनी व्यवस्था रहेको छ ।

यता प्रतिष्ठानको ऐनको दफा २० (१)मा रजिष्ट्रारको व्यवस्था गरिएको छ । रजिष्ट्रार प्रतिष्ठानको आर्थिक, प्रशासनिक प्रमुख हुने व्यवस्था ऐनले गरेको छ । ४ वर्षे कार्यकालका लागि रजिष्ट्रारको नियुक्ति उपकूलपति (भिसी)को सिफारिसमा सहकूलपतिले गर्ने ऐनले तोकेको छ । उक्त दफाहरु संशोधन नहुँदा प्रतिष्ठानको भिसी नियुक्तिमा समस्या देखएको हो ।

Exit mobile version