हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योग सञ्चालनबिना रोजगारी सिर्जना हुन नसक्ने बताउनुभएको छ । बुधबार हेटौंडामा आयोजित बागमती प्रदेश उद्योग परिसंंघको तेस्रो साधारणसभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।
सरकारले मात्रैै रोजगारी दिन नसक्ने भन्दै उहाँले निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सरकार र निजी क्षेत्रबीच सम्बन्ध नभएसम्म उद्योग सञ्चालन हुन नसक्ने र रोेजगारी पनि सिर्जना नहुने उहाँको भनाइ छ । ‘रोजगारी सिर्जना गर्ने पहिलो उपाय भनेको उद्योग सञ्चालन हो । अहिले कुनै पनि क्षेत्रबाट उद्योगलाई सपोर्ट भएको देख्दिन । त्यसैले लगानी गर्ने क्षेत्रहरु यताभन्दा विदेशमा बढी लगानी गर्न पुगेको छ’, मुख्यमन्त्री लामाले भन्नुभयो । उहाँले उद्योग कसरी भित्र्याउने भन्ने कुरामा सरकारले हातेमालो गर्दै संरक्षणको विषयमा अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । यसको अनुसन्धान गरेर लगानीकर्ताहरुलाई यहाँ ल्याउन, लगानीकर्तालाई निरुत्साहित हुने खालको ऐन, कानुन छ भने परिवर्तन गर्न र तीनै तहको सरकारको अधिकार के भन्ने कुरामा सम्बन्ध हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रदेशमा उद्योग हेर्ने कानुन नरहेको भन्दै मुख्यमन्त्री लामाले जग्गाको अधिकार पनि प्रदेश सरकारसँग नहुँदा उद्योग सञ्चालन गर्ने ठाउँ दिन नसकिएको बताउनुभयो । प्रदेशको आम्दानी बढाउने, स्रोतको परिचालन र अनुसन्धान गर्ने भन्ने रहे पनि त्यो हुन नसकिरहेको मुख्यमन्त्री लामाको भनाइ छ । प्रदेशले गर्नुपर्ने ऐन, कानुन परिवर्तनमा व्यवसायीसँग हातेमालो गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
मुख्यमन्त्री लामाले देशमा ठूला अन्तर्राष्ट्रिय कम्पनीहरु ल्याउन वातावरण बनाउन नसकिरहेको बताउनुभएको छ । लाइसेन्स लिन गाह्रो र हरेक क्षेत्रबाट निरुत्साहित हुने काम मात्र हुँदा उद्योगको विकास हुन नसकेको उहाँको भनाइ छ । लगानीकर्ताहरुलाई सुरक्षा दिएर उद्योगग्राम बनाउनेतर्फ सोच्न आवश्यक रहेको उहाँको भनाइ छ ।
अहिले हेटौंडा औद्योगिक क्षेत्रमा बस्ती बढेसँगै उद्योग नै सञ्चालन गर्न पनि गाह्रो अवस्थामा आइसकेको उहाँले बताउनुभयो । बस्ती बढ्न थालेसँगै प्रदूषणका कुराहरु आउन थालेको र उद्योग नै चलाउन नसकिने अवस्था आएको मुख्यमन्त्री लामाको भनाइ छ । सबैले आ–आफ्नो ठाउँबाट उद्योग सञ्चालनका लागि सहयोग गर्नुपर्ने र उद्योग फष्टाउने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । यसो नभएमा रोजगारी सिर्जना नहुने र विदेश पलायन हुने अवस्था आउने उहाँको भनाइ छ ।
बागमती प्रदेशको उद्योग, वाणिज्यमन्त्री सुकमाया तामाङले लोकल मदिरालाई ब्राण्डिङ गर्ने गरी उद्योग स्थापना हुनुपर्ने बताउनुभएको छ । यसलाई कार्यान्वयन गर्न संघ सरकारसँग वृहत् छलफल भइरहेको भन्दै उहाँले उद्योग सञ्चालन गर्ने अधिकार प्रदेशमा हुनुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशलाई आर्थिकरुपले सम्पन्न गराउने र युवाहरुलाई रोजगारी दिनुुपर्ने मन्त्रालयमा बजेटको प्राथमिकता नभएको भन्दै गुनासो गर्नुभएको छ ।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक विकासले देशको आर्थिक अवस्था सुदृढ हुनसक्छ भन्ने सबैले बुझेको तर नीतिगत विषय र कार्ययोजनामा तीनै तहको सरकारको प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । जनसंख्या, उद्योग स्थापना, भौतिक पूर्वाधार, बजार, पर्यटन र आयात–निर्यातका लागि सीमा नाकाको हिसाबले अब्बल बागमती प्रदेशले आर्थिक गतिविधि र औद्योगिक विकासमा गति लिन नसकिरहेको पनि उहाँले बताउनुभयोे । अहिले बजारमा औद्योगिक उत्पादनको माग १३ प्रतिशतभन्दा बढीले घटेको भन्दै उहाँले औद्योगिक उत्पादनको मागलाई वृद्धि गर्न औद्योगिक उत्पादनको प्रदर्शन हुन जरुरी रहेको बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारलाई लगानी सम्मेलनको आयोजना गर्न माग गर्नुभएको छ ।
उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलुवाललगायतको आतिथ्य रहेको थियो ।