झोलुङ्गे पुलको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष हिदम लामा

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित धोर्सिङ र क्यामुन्टार जोड्ने झोलुङ्गे पुलको उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुलको उद्घाटन गर्नुभएको हो ।

पुल निर्माणपछि क्यामुन्टार, माण्डु र चापाघारी बस्तीका ७५ भन्दा बढी घरधुरी लाभान्वित भएको अध्यक्ष लामाले बताउनुभएको छ । पुल निर्माणपछि उक्त क्षेत्रका बालबालिका विद्यालय आवतजावत गर्न र किसानले आफुले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन सहज हुने अध्यक्ष लामाले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका योेजना शाखा प्रमुख बद्री सापकोटाका अनुसार पालिकाको ३५ लाख रुपैयाँ बजेट र राडो नेपालको प्राविधिक सहयोगमा उक्त पुल निर्माण भएको हो । पुल ५५ मिटर लम्बाई र १.०६ मिटर चौडाईमा निर्माण भएको उहाँले बताउनुभयो । २०८० साल फागुन महिनामा पुलको शिलान्यास गरिएको थियो । पुल निर्माण समितिका अध्यक्ष अमर वाईबाको सभाध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का निवर्तमान अध्यक्ष सीताराम थापा र राडो नेपाल मकवानपुरका कार्यक्रम संयोजक विष्णु धिताल लगायतको उपस्थिति रहेको थियो ।