Home मुख्य समाचार सिटीईभीटीअन्तर्गत् फरेष्ट्री विषयमा विद्यार्थी भर्ना स्थगित

सिटीईभीटीअन्तर्गत् फरेष्ट्री विषयमा विद्यार्थी भर्ना स्थगित

हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यायलले दुई वर्षदेखि सिटीईभीटीअन्तर्गत् वन विज्ञान (फरेष्ट्री) को डिप्लोमा तहको विद्यार्थी भर्ना स्थगित गरेको छ । फरेष्ट्री विषय अध्ययन गर्ने विद्यार्थी संख्या ज्यादै न्यून भएका कारण नयाँ विद्यार्थी भर्ना स्थगित गरेको विद्यालयका सहायक प्रधानाध्यापक रामशरण अधिकारले बताउनुभयो ।

यसवर्ष सिद्धार्थ माविमा ३ वर्षे डिप्लोमा तहको फरेष्ट्री विषय अध्ययनका लागि ८ जनाले प्रवेश परीक्षा दिएकोमा ५ जनामात्र विद्यार्थी भर्ना भएका थिए । अधिकारीका अनुसार ५ जनालाई मात्र पढाउने अवस्था नभएका कारण विद्यालयले पठनपाठन सुचारु गर्न सकेन । विद्यालयले आगामी वर्ष अन्तिम पटक अध्यापनका लागि प्रयास गर्ने उहाँको भनाइ छ ।

सिद्धार्थ माविले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी)सँगको सम्बन्धनमा २०७६ सालदेखि ३ वर्षे डिप्लोमा तहको फरेष्ट्री विषयको पठनपाठन सुरु गरेको थियो । उक्त विषय अध्यनका लागि प्रतिविद्यार्थी एक लाख ६० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक अधिकारीले फरेष्ट्री विषयको शुल्क महंगो हुनु विद्यार्थी कम हुनुको एउटा कारण रहेको बताउनुभयो । पहिलो वर्षमा विज्ञान विषयअन्तर्गत्का पाठ्यक्रम रहेको कारण पठाइमा सामान्य विद्यार्थीका लागि गाह्रो हुने र पहिलेजस्तो जागिरको अवसर नआउनेलगायत कारणले विद्यार्थी कम भएका उहाँ बताउनुहुन्छ ।

सुरुवातदेखि नै कम संख्यामा विद्यार्थी पठनपाठन गराउँदै आएको विद्यालयले पछिल्ला वर्ष विद्यार्थी झन् कम हुन थालेपछि पठनपाठन गराउन नसकेको हो । फरेष्ट्री विषयमा पहिलो ब्याचमा १३ जना विद्यार्थी भर्ना भएकोमा ९ जना विद्यार्थी पास आउट भएको अधिकारीले बताउनुभयो । दोस्रो व्याचमा भर्ना भएका १८ जना विद्यार्थीमध्ये तेस्रो वर्षसम्म आइपुग्दा १५ जना विद्यार्थी अध्यनरत थिए । त्यसमध्ये पनि १२ जना विद्यार्थीले मात्र परीक्षा दिएको उहाँले बताउनुभयो ।

विद्यालयले माघ २ गतेदेखि तेस्रो वर्षका १२ जना विद्यार्थीलाई ४ जना शिक्षकद्वारा पढाउने भएको छ । पहिलो वर्षमा फरेष्ट्री विषय अध्यापनका लागि ९ जना शिक्षक हुनुहुन्थ्यो भने दोस्रो र तेस्रो वर्षका लागि ८ जना शिक्षक हुनुहुन्थ्यो । स्थानीय तह र वडाको सहयोगले विद्यालयमा फरेष्ट्री विषय फेरि सञ्चालन हुनसक्ने अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार फरेष्ट्री विषयअन्तर्गत् सिद्धार्थ मावि नेपाल टपसमेत भएको थियो । विद्यार्थीहरुले सिद्धार्थमा ३ वर्ष अध्ययन पूरा गरेपछि बाहिर स्नातक तह पढ्न जान पाउने अधिकारीले बताउनुभयो । हेटौंडामा त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयको फरेष्ट्री विषयका कक्षाहरु चलिरहेका कारण विद्यालयले पनि सिटीईभीटीको सम्बन्धनमा फरेष्ट्रीको डिप्लोमा विषय पठनपाठन सुरु गरेको थियो । विद्यार्थीलाई स्नातक पढ्न सहज हुने र विद्यालयले शिक्षक पाउन सजिलो हुने कारणले फरेष्ट्री विषय अध्यापन गराइएको अधिकारीले बताउनुभयो ।

Exit mobile version