Home मुख्य समाचार मुख्यमन्त्री जम्कट्टेलको एक वर्ष पूरा, पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे कामको विवरण

मुख्यमन्त्री जम्कट्टेलको एक वर्ष पूरा, पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे कामको विवरण

मुख्यमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलन ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको छ । एक वर्ष पूरा भएको सन्दर्भमा बुधबार मुख्यमन्त्री जम्कट्टेलले पत्रकार सम्मेलन गरेर प्रदेश सरकारले गरेका कामको बारेमा जानकारी गराउनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको दावी गर्नुभएको छ ।

जनरल वेडलाई निःशूल्क गर्नु, स्वास्थ्य कर्मचारी व्यवस्थापन गर्नुलाई स्वास्थ्यमा क्रान्ति गरेको मुख्यमन्त्री जम्कट्टेलको दावी छ । आफू मुख्यमन्त्री भएपश्चात चालु आर्थिक वर्षमा ३० प्रतिशत खर्च घटाउन सफल भएको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको १४ वटा मन्त्रालयको संख्या घटाएर १२ वटा बनाइएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले संगठन विस्तार गरी जिल्ला तहमै जनतालाई सेवा दिने काम गरेको उहाँको भनाई छ ।

सरकारले निजामती सेवा ऐन पारित गरी ५ वर्षदेखि रोकिएको कर्मचारी बढुवाको कार्य गरेको जनाएको छ । प्रदेश सरकारले गरेका कामको विवरण उल्लेख गरी पुस्तक नै प्रकाशन गरिएको छ । शिक्षामा आवासीय ढाँचा लागु गरिएको, भौतिक पूर्वाधारतर्फ एक वर्षमा २ सय ७२ किलोमिटर सडक कालोपत्रे गरेको पुस्तकमा उल्लेख छ । प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गरेको मुख्यमन्त्री जम्कट्टेलले दाबी गर्नुभएको छ । आफू नेतृत्वको प्रदेश सरकारमा विवाद नहुनु पनि उपलब्धीको विषय भएको उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु, नीति तथा योजना आयोगका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version