Home मुख्य समाचार डाक्टर कुटपिट प्रकरणः फरार प्रतिवादी पक्राउ नभए मुद्दा तामेल नहुने

डाक्टर कुटपिट प्रकरणः फरार प्रतिवादी पक्राउ नभए मुद्दा तामेल नहुने

हेटौंडाः गत भदौ २७ गते हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो हस्पिटलमा डाक्टर कुटपिटको घटनामा संलग्न सबैलाई पक्राउ गर्न नसक्दा मुद्दा प्रक्रिया अघि बढ्न सकेको छैन । अस्पतालको एचडीयु वार्डमा विरामीको उपचारमा संलग्न जनरल फिजिसियन डा. विकास थापा, एनेस्थेसियन डा. प्रशान्त बिडारीलाई सांघातिक आक्रमण गर्ने केही व्यक्ति अझैसम्म अदालतमा हाजिर नहुँदा मुद्दा अघि बढ्न नसकेको हो ।

जिल्ला अदालत मकवानपुरले कुटपिट प्रकरणमा संलग्न रहेका १३ जनाको नाममा पक्राउ पुर्जी जारी गरेकोमा प्रहरीले ६ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको थियो । चिकित्सकको लापरवाहीका कारण डेंगु संक्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको भन्दै चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । प्रहरीले चिकित्सकमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा प्रधान, छोरी रमिला प्रधान, छोरा रोहन प्रधान, भतिज अनुप प्रधान, हेटौंडा–१२, सिक्रेनीका सुवास स्याङ्तान र जीवन लामालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा ग¥यो । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले धरौटी माग गर्ने आदेश गरेको थियो । अधिकारीको आदेशमा चिकित्सकमाथि आक्रमण गर्ने रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको थियो भने रमिला, रोहन, अनुप, सुनिल र जीवनलाई जनही २ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो ।

अदातलले धरौटीमा रिहा गर्न सकिने आदेशसँगै ६ जना नै धरौटी बुझाएर प्रहरी हिरासतमुक्त भएका छन् । प्रहरीले मुद्दा अदालतमा पेस गरेपश्चात् बिशाल जिम्बा हाजिर भएको र अन्य फरार रहेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जनाकारी दिनुभयो । पक्राउ पुर्जी जारी भएका हेटौंडा–१२ का सुरजकुमार भोलन, सुदिन मोक्तान, शिवबहादुर वाइवा, हेटौंडा–१३ का खिलबहादुर भोलन र बलबीर लामा भने अझै फरार रहेका छन् ।

फरार रहेका प्रतिवादी अदालतमा हाजिर नभएसम्म मुद्दा अघि नबढ्ने श्रेस्तेदार पौडेल बताउनुहुन्छ । घटनापश्चात चिकित्सकहरुले अत्यावश्यकबाहेकका सेवा नै बन्द गरेका थिए । यस घटनालाई लिएर स्वास्थ्यकर्मीले देशव्यापी आन्दोलन गरेका थिए । विभिन्न सहमतिपश्चात् आन्दोलन फिर्ता गरी सेवा सुचारु भएको थियो ।

सांघातिक आक्रमणमा परेका जनरल फिजिसियन डा. विकास थापा मकवानपुर फर्किनु भएन । गण्डकी प्रदेशको कास्की जिल्ला घर भएका डा. थापा ९ वर्षदेखि हेटौंडामा कार्यरत हुनुहुन्थ्यो । करिब ५ वर्ष चुरेहिल हस्पिटलमा काम गर्नुभएका डा. थापा सञ्चो हस्पिटल स्थापनाकालदेखि नै हस्पिटलको प्रमुख डाक्टरको रुपमा कार्यरत हुनुहुन्थ्यो । अहिले डा. थापा काठमाडौंमै बसेर काम गर्दै आउनुभएको छ । एनेस्थेसियन डा. प्रशान्त बिडारी भने नियमित काममा फर्कनुभएको छ ।

Exit mobile version