Home मुख्य समाचार हेटौँडा उपमहानगरप्रमुख मीना कुमारी लामा रुवाण्डामा

हेटौँडा उपमहानगरप्रमुख मीना कुमारी लामा रुवाण्डामा

त्रिभुवन विमानस्थलमा खिचिएको फोटो समावेश गरेर हेल्लो हेटौँडा उपमहानगरपालिका फेसबुक पेजमा नगरप्रमुखको वैदेशिक यात्राको विषयमा राखिएको विवरण ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा अफ्रिकी मुलुक रुवाण्डा पुग्नुभएको छ । बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको समन्वय र अन्तर्राष्ट्रिय पानी संगठन (आइडब्लुए) को निमन्त्रणामा मंसिर २४ गते आइतबारदेखि ४ दिनसम्म हुने पानी र विकास सम्मेलन तथा प्रदर्शनीमा सहभागी हुन नगरप्रमुख लामा रुवाण्डाको किगालीमा पुग्नुभएको हेटौँडा उपमहानगरपालिकाको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

सम्मेलन सुरु हुने दिनमा नगरप्रमुख लामाको सहभागिताको विषयमा सामाजिक सञ्जालमार्फत उपमहानगरपालिकाले सामान्य जानकारी मात्रै राखेको छ । संयुक्त राष्ट्रसंघीय पानी कार्यक्रमको आयोजनामा भएको सम्मेलन तथा प्रदर्शनीमा नगरप्रमुखको सहभागिताको उद्देश्य, लक्ष्य र नगरप्रमुखको उपस्थितिले हुने लाभका विषयमा केही पनि उल्लेख गरिएको छैन । नगरप्रमुख कुन दिन रुवाण्डा प्रस्थान गर्नुभयो भन्ने पनि यकिन विवरण उल्लेख गरिएको छैन । नगरप्रमुखको वैदेशिक भ्रमणको विषयमा औपचारिक जानकारी समेत गराइएको छैन । फेसबुक पेज “हेल्लो हेटौँडा उपमहानगरपालिका” मा नगरप्रमुख लामासहित ६ जनाको फोटो समावेश गरिएको छ । फोटोमा देखिने व्यक्तिहरु को–को हुन् भन्ने पनि स्पष्ट छैन । नगरप्रमुख लामा फोटोको छेउमा उभिनुभएको हिसाबले उहाँसँग रुवाण्डा जाने व्यक्तिहरु उच्च पदस्थ हुनुहुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

नगरप्रमुख लामा मंसिर १६ गतेदेखि २१ गतेसम्म चीनको भ्रमण गरेर फर्कनु भएको थियो । चीन भ्रमणको विषयमा पनि उपमहानगरपालिकाले कुनै किसिमको औपचारिक विवरण सार्वजनिक गरेको छैन । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग चीन जानुभएकी नगरप्रमुख लामा चीनबाट फर्के लगत्तै रुवाण्डा प्रस्थान गर्नुभएको अनुमान गर्न सकिन्छ । मंसिर २१ गतेसम्म चीनको भ्रमणमा रहनुभएकी लामा मंसिर २४ गतेदेखि सुरु हुने सम्मेलनमा सहभागी हुन रुवाण्डा जानुभएको हो ।

नगरप्रमुखमा निर्वाचित हुनु भएयता लामाले युरोपेली मुलुक नेदरल्याण्ड्ससँगै एसियाली मुलुक मलेसिया, चीन हुँदै अफ्रिकी मुलुक रुवाण्डाको भ्रमण गरिरहनुभएको छ । नगरप्रमुखको हालसम्मको भ्रमणको औपचारिक जानकारी, भ्रमणको उद्देश्य र लाभको विषयमा कुनै किसिमको समीक्षा हुन सकेको छैन । नगरप्रमुखको भ्रमणको विषयमा उपमहानगरपालिकाको कुनै पनि तहले औपचारिक र अनौपचारिक जानकारी दिने प्रचलन छैन ।

Exit mobile version