Home मुख्य समाचार प्लानको सहयोगमा सिडिओ नेपालले मकवानपुरमा बनायो ४५ वटा नमूना कक्षाकोठा

प्लानको सहयोगमा सिडिओ नेपालले मकवानपुरमा बनायो ४५ वटा नमूना कक्षाकोठा

नमूना कक्षाकोठामा शिक्षकहरुले तयार पारेको शैक्षिक सामग्री प्रदर्शन गर्दै ।

हेटौँडाः अन्तर्राष्ट्रिय दातृ निकाय प्लान नेपालको सहयोगमा सामुदायिक विकास संस्था (सिडिओ) नेपाल मकवानपुरले मकवानपुर जिल्लामा ४५ वटा नमूना कक्षाकोठा निर्माण गरेको छ । सन् २०२२ को जुलाईदेखि एक वर्षे कार्यक्रमअन्तर्गत मकवानपुरको बागमती, मनहरी र मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका २४ वटा विद्यालयमा २९ वटा नमूना कक्षाकोठा निर्माण गरिएको हो । प्रारम्भिक बालविकास कक्षादेखि २ कक्षासम्मका कक्षाकोठालाई बालमैत्री र आकर्षक बनाउन सहयोग गरिएको सिडिओ नेपाल मकवानपुरका कार्यक्रम संयोजक अर्जुन खड्काले जानकारी दिनुभएको छ ।

नमूना कक्षाकोठामा भुइँ इन्सुलेटर राखेर जुट कार्पेट राखी बच्चाबच्चीका लागि सुरक्षित र न्यानो बनाइन्छ भने आवश्यकताअनुसार चकटीको पनि व्यवस्था मिलाउने गरिएको छ । कक्षाकोठामा विभिन्न रंगका कागजका फुलहरु बनाएर झिलिमिली बनाइन्छ भने बालबालिकाका लागि उपयुक्त टेवल, टिभि पनि राखिदिने गरेको छ । टिभिमा बालबालिकालाई श्रव्यदृश्य सामग्री देखाएर सिक्ने वातावरण बनाउने गरिन्छ । यस्तै कक्षाकोठाका भित्तालाई पुस्तकको पाना जस्तै अक्षर, शब्द लेखेर सिंगार्ने गरिएको छ ।

सिडिओ नेपालले बालमैत्री एवम् आकर्षक कक्षाकोठा निर्माणसँगै शिक्षकलाई क्षमता विकासका लागि तालिमको पनि आयोजना गरेको छ । मकवानपुरगढीको भानु मावि र जालपादेवी माविमा महिनावारी हुँदा आराम गर्ने कक्ष पनि निर्माण गरिएको छ । केही विद्यायमा टिभि, स्पिकर, स्ट्रेचर प्रदान गरिएको कार्यक्रम संयोजक खड्काले जानकारी दिनुभयो । ३, ४ हजार रुपैयाँको अभावमा विद्यालयको भौतिक संरचनाको मर्मत, सम्भार हुन नसकिरहेको अवस्थाका विद्यालयदेखि एक लाख २० हजार रुपैयाँसम्म सहयोग गरेर सिडिओले नमूना कक्षाकोठा तयार पारेको संयोजक खड्काले बताउनुभयो ।

सिडिओ नेपालले मकवानपुरगढीमा १२ वटा विद्यालयमा २९ वटा नमूना कक्षाकोठा निर्माण गरिदिएको छ भने मनहरी गाउँपालिकामा ९ वटा, हेटौँडा उपमहानगरपालिकामा ४ वटा र बागमती गाउँपालिकामा ३ वटा कक्षाकोठा निर्माण गरिदिएको छ । विद्यार्थीमैत्री विद्यालय निर्माण गर्ने क्रममा खेलमैदान मर्मत गर्ने काम पनि भएको छ । बागमती गाउँपालिकाको गीता आधारभूत विद्यालयमा खेलमैदान निर्माणमा मात्रै ८१ हजार रुपैयाँ खर्च भएको कार्यक्रम संयोजक खड्काले बताउनुभयो ।

विद्यालयका कक्षाकोठा आकर्षक र बालमैत्री बनाउँदा विद्यार्थीहरुको सिकाई प्रभावकारी भएको, विद्यार्थीको संख्या बढेको, विद्यालयका ससाना समस्या समाधान भएको सिडिओ नेपालका कार्यकारी निर्देशक जंगबहादुर बिक बताउनुहुन्छ । वडाहुँदै पालिकाको सिफारिसमा विद्यालय छनोट गरी विद्यालयको भौतिक सुधार तथा शिक्षकहरुको क्षमता विकासको कार्य गरिएको उहाँले बताउनुभयो ।

Exit mobile version