हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माविमा मनिष महर्जन, मुकेश कुमार मिश्र र लक्ष्मण भण्डारी उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएको छ । शुक्रबार ५६ औं अभिभावक भेलाको अवसरमा विद्यालयले मावि तहमा महर्जन, निमावि तहमा मिश्र र प्रावि तहमा भण्डारीलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नवीन सिग्देल, पूर्वअध्यक्षहरु गोविन्द दाहाल र ज्योति बज्राचार्यलाई सम्मान गरिएको छ । यस्तै शिक्षक अभिभावक संघका पूर्वअध्यक्ष रामप्रसाद श्रेष्ठ र अजीव भट्टराईलाई पनि सम्मान गरिएको छ ।
अभिभावक भेलाको अवसरमा २० वर्षभन्दा बढी समयदेखि सेवा गरिरहेका शिक्षक, कर्मचारी ८ जनालाई सम्मान गरिएको छ । विद्यालयले वार्षिक परीक्षामा कक्षागत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । यस्तै विद्यालयको प्रतिनिधित्व गरी जिल्लास्तरीय प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई जनही क्रमशः एक हजार, सात सय र पाँच सय रुपैयाँ नगदसहित सम्मान गरिएको छ । विद्यालयले शैक्षिक क्षेत्रका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेको भन्दै समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई पनि सम्मान गरेको छ ।
अभिभावक भेलामा विद्यार्थीले नृत्य, गायन कला प्रस्तुत गरेका थिए । विद्यार्थीले शैक्षिक प्रदर्शनीको पनि आयोजना गरेका थिए । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार ८ सय विद्यार्थी अध्ययनरत छन् । अभिभावक भेलामा प्रधानाध्यापक माधवप्रसाद दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । अभिभावक भेला समारोहमा बागमती प्रेदश सरकारको पूर्वराज्य मन्त्री जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमाल, विद्यालयका पूर्वप्रधानाध्यापकहरुको पनि उपस्थिति रहेको थियो ।