Home खेलकुद वाइसीएल मकवानपुर संयोजकमा ठकुरी

वाइसीएल मकवानपुर संयोजकमा ठकुरी

हेटौंडाः नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको संयोजकमा लवराज ठकुरी चयन हुनुभएको छ । वाइसीयल बागमती प्रदेश कमिटीको बैठकले ठकुरीलाई मकवानपुर संयोजक चयन गरेको हो ।

एक दशकदेखि वाइसीएलको विभिनन जिम्मेवारी निर्वाह गर्नुभएको ठकुरी यसअघि वाइसीयल मकवानपुरको सचिव हुनुहुन्थ्यो । हेटौंडा–४ निवासी रहेका ३८ वर्षीय ठकुरी विभिन्न सामाजिक अभियानमा क्रियाशील हुनुहुन्थ्यो ।

संयोजक चयन भएसँगै ठकुरीले भ्रष्टाचार र अनियमितताको सूक्ष्म ढंगले अनुगमन र नियमन गर्दै यसबिरुद्ध अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । राजनीतिक र सामाजिक क्षेत्रमा वाइसीएललाई सक्रिय बनाइने पनि उहाँले बताउनुभयो । ‘पार्टीको नीतिअनुसार देश र जनतको पक्षमा काम गर्ने एक सशक्त संगठन बनाउने काममा म अघि बढ्छु’, ठकुरीले भन्नभयो, ‘आगामी स्थानीय तहको निर्वाचनमा युवाहरुलाई परिचालन गरी नेकपा माओवादी केन्द्रको पक्षमा जनलहर ल्याउनेगरी हामी काम गर्नेछौं ।’

वाइसीएल प्रदेश कमिटी बैठकले वाइसीएल मकवानपुरको सचिवमा अरुण मोक्तानलाई चयन गरेको छ । बैठकले केन्द्रीय कृषि तथा उत्पादन विभागमा सानुबावु मोक्तान, शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि विभागमा दिनेश बानियाँ, खेलकुद विभागमा आलोक लामा, अनुशासन विभागमा सरोज पाख्रिन, जनमुक्ति सेना विभागमा सुनिल बयलकोटीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश आयोजक कमिटीमा जिल्ला संयोजक ठकुरीसँगै मकवानपुरका किरण मोक्तान, अबिनाश गजुरेल, शोभासिंह ठकुरी घिमिरे, बिष्णु नेगी, प्रकाश थापा, जगदीश दाहाल, वीरध्वज थिङ, दीपक थिङ, दीपेन्द्र अधिकारी र कमल अर्याललाई चयन गरिएको छ ।

Exit mobile version