बार्षिकोत्सवमा आमन्त्रितलाई वितरण गर्न राखिएका पुस्तकहरु ।

हेटौंडाः हेटौंडाबाट प्रकाशित हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकको ११ औं बार्षिकोत्सव तथा रेडियो निकास ९३.४ मेघाहर्जको ८ औं बार्षिकोत्सवको अवसरमा आमन्त्रितलाई उपहारस्वरुप पुस्तक वितरण गरिएको छ । बुधबार हेटौंडामा आयोजित बार्षिकोत्सव समारोहमा आमन्त्रित २ सय जनालाई विभिन्न शीर्षकका पुस्तक उपहारस्वरुप पुस्तक वितरण गरिएको हो ।

प्रमुख अतिथि खनाललाई पुस्तक हस्तान्तरण गर्नुहुँदै सम्पादक श्रेष्ठ ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा आमन्त्रितलाई उपहारस्वरुप पुस्तक वितरण गरिएको समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले जानकारी दिनुभयो । गत बर्ष पनि बार्षिकोत्सवको अवसरमा पुस्तक वितरण गरिएको जानकारी गराउनुहुँदै पठन संस्कृतिको अभावका कारण सञ्चार माध्यमको उपयोगिता पनि कमजोर हुँदै जाने अवस्थालाई मध्यनजर गरी पठन संस्कृतिको विकासकै लागि पुस्तक वितरणको कार्य गरिएको सम्पादक श्रेष्ठले बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललाई पुस्तक हस्तान्तरण गर्नुहुँदै रेडियो निकासका सञ्चालक सदस्य प्रताप विष्ट ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालको प्रमुख आतिथ्यमा आयोजित बार्षिकोत्सव समारोहमा पुस्तक हस्तान्तरण कार्यलाई पनि रोचक बनाइएको थियो । प्रमुख अतिथि खनालले केही सहभागीलाई पुस्तक वितरण गरेर सुरु भएको पुस्तक वितरण कार्यक्रममा सहभागीले नै एकअर्कालाई हस्तान्तरण गरेका थिए । सम्पादक श्रेष्ठले प्रमुख अतिथि खनाललाई पुस्तक हस्तान्तरण गर्नुभयो । पठन संस्कृतिको विकासका लागि पुस्तक वितरणको कार्यलाई नियमितता दिने पनि सम्पादक श्रेष्ठले जानकारी दिनुभएको छ ।

बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँलाई पुस्तक हस्तान्तरण गर्नुहुँदै सम्पादक श्रेष्ठ ।
हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामालाई पुस्तक हस्तान्तरण गर्नुहुँदै मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्याय ।