Home मुख्य समाचार आगामी बजेट पास गर्न नदिन विपक्षी दल एकजुट

आगामी बजेट पास गर्न नदिन विपक्षी दल एकजुट

हेटौंडाः बागमती प्रदेश सरकारले सदन सुचारु गर्न विपक्षी दलहरुसँग छलफल अघि बढाएको छ । सोमबार बिहान बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाँलले सबै दलका नेताहरुसँग विद्युतीय बस खरिदको विषयमा छलफल गर्नुभयो । उहाँले विद्युतीय बसको किन आवश्यकता भयो भन्ने बारेमा स्पष्ट गर्नुभएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा सोमबार विद्युतीय बस किन खरिद गनुपर्‍यो भन्ने विषयमा मन्त्रालयका सचिव सञ्जीव बरालले प्रस्तुति पनि गर्नुभयो । तर दलका नेताहरुले सरकारले तत्काल विद्युतीय बस खरिद गर्न नहुने तर्क गरेका छन् । विपक्ष दलका नेताहरु विद्युतीय बस खरिद तत्काल रोक्न एकजुट देखिएका हुन् । यद्यपि आगामी वर्षको बजेट पास नगर्न सबै विपक्षी दलहरु एकजुट भएका हुन् ।

प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल एनेकपा माओवादीका नेता शालिकराम जम्कट्टेलले अहिले बहुमतले निर्णय गरेर विद्युतीय बस खरिद गरे धादिङ जिल्लामा चार्जिङ स्टेशन नै राख्न नदिने चेतावनी दिनुभयो । उहाँले पहिले सरकारले विद्युतीय बस खरिद गर्न पूर्वाधार निर्माण गरेर खरिद प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको छ ।

चार्जिङ स्टेशन निर्माण गर्न जग्गा प्राप्ती गर्ने र पूर्वाधार निर्माणमा प्राथमिकता नदिएर सिधै बस खरिद गर्न खोजेको भन्दै उहाँले त्यसो नगर्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँले जनताको पैसा सरकारले डुबाउन हुन्न भन्ने तर्क गर्नुभएको छ । विकास विरोधी नभएको भन्दै रेल ल्याएर सञ्चालन गर्न नसकेको जस्तै प्रदेशले विद्युत् बस खरिद गरेर चलाउन नसके राम्रो सन्देश नजाने बताउनुभयो ।

आगामी वर्षमा विद्युतीय बस खरिद गर्न प्रदेश सरकारले ५० करोड बजेट छुट्याएको छ । बागमती प्रदेश सरकाले आर्थिक वर्ष २०७६/०७७ देखि विद्युतीय सवारी खरिद गर्न बजेट विनियोजन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २८ करोड छुट्याएको प्रदेश सरकारले चालु आर्थिक वर्षमा यातायात पूर्वाधार निर्देशनालयको नाममा १० करोड र अर्थ विविधमा ३० करोड बजेट छुट्याएको थियो ।

विद्युतीय बस खरिद गरेर सरकारले व्यापार गर्न नहुने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बताउनुभयो । लोकतन्त्रमा राज्यले जनतालाई सेवा दिनुपर्ने तर व्यापार गर्न नहुने उहाँको तर्क छ । विद्युतीय बस खरिद प्रक्रिया नै गलत भएको भन्दै कांग्रेसले यसको समर्थन नगर्ने नेता बानियाँले स्पष्ट गर्नुभयो । सरकार यसबाट ब्याक हुनुपर्ने भन्दै सरकारले बहुमतले बजेट पास गरेर बस खरिद गरे कांग्रेसको सरकारले यो नीतिलाई खारेज गर्ने चेतावनी दिनुभयो ।

निजी क्षेत्रलाई अवसर दिनुपर्ने नेता बानियाँको भनाई थियो । भन्सार छुट दिएर निजी क्षेत्रलाई विद्युतीय बस खरिद गर्न अवसर दिनुपर्ने र सफल भएमा सरकारले वृद्ध, अपाङ्गलाई सहुलियतका साथै आम नागरिकलाई समेत सुविधा प्रदान गर्नेगरी बस सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यस्तै, नेमकिपाका नेता सुरेन्द्रराज गोसाईंले सरकारले ट्रली बस, साझा बस, सरकारी उद्योग जस्तै विद्युतीय बस पनि सञ्चालन गर्न नसक्ने स्थिति आउनसक्ने बताउनुभयो । विवेकशील साझा दलका नेता रमेश पौड्यालले विद्युतीय बस खरिद गर्नु सकारात्मक भएको तर पूर्वाधार पहिला निर्माण गरेरमात्रै खरिद गर्नु उपयुक्त हुने बताउनुभयो ।

अन्य दलका नेताहरुले पनि पहिले पूर्वाधार तयार गरेरमात्रै बस खरिद पक्रिया अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालय र मुख्यमन्त्री डोरमणि पौडेललाई सुझाव दिएका छन्. । प्रदशको सार्वजनिक लेखा समितिले पूर्वाधार निर्माण गरेरमात्रै विद्युतीय बस खरिद गर्न मन्त्रालयलाई निर्देशन दिएको भएपनि त्यसको कार्यान्वयन नभएको समितिका सभापति न्यूक्षेनारायण श्रेष्ठले बताउनुभयो । बागमती प्रदेशले आउँदो साउन महिनामा ३० वटा विद्युतीय बस खरिद गर्न टेन्डर आह्वान गर्ने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले १० वटा चार्जिङ स्टेशन प्रदेशमा राख्ने सहमति भएपनि कुन स्थानमा चार्जिङ स्टेशन राख्ने तय नहुँदा सांसदहरुले विद्युतीय बस खरिद प्रक्रिया रोक्न माग गरेका हुन् ।

प्रदेश सरकार मातहतमा विद्युत् प्राधिकरण नभएको, जग्गा प्राप्ती गर्न संघीय सरकारको निर्णय कुर्नुपर्ने हुँदा अझै एक वर्ष समय लाग्ने भन्दै बस खरिद गरेर बस्न नहुने नेताहरुले तर्क गरेका छन् । बस खरिद गरेर त्यसको १० वर्षसम्मको रणनीति प्रष्ट नभएको भन्दै सांसदहरुले ऐन कानुन बनाउनै बाँकी भएको अवस्थामा बस खरिद गर्नु उपयुक्त नदेखिएको बताएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाँलले सबैको सुझावलाई ग्रहण गर्दै अघि बढ्ने बताउनुभएको छ । विद्युतीय बस आजको आवश्यकता भएको भन्दै यसलाई सञ्चालन गर्न प्रदेश सरकार सक्षम भएको मन्त्री फूयाँलले बताउनुभएको छ ।

Exit mobile version