Home मुख्य समाचार किसानलाई सम्बोधन भएन

किसानलाई सम्बोधन भएन

देशमा रोजगारी नपाएर विदेशिने युवाहरुलाई नेपालमै काम दिनुपर्ने माग उठ्दै आए पनि राज्यका तर्फबाट बनाएका योजनाहरु प्रभावकारीरुपमा कार्यान्वयन हुन सकिरहेको अवस्था छैन । नेपालमा रोजगारी सृजनाका क्षेत्रहरु धेरै छन् तर ठोस योजना नहुँदा आवश्यकताअनुसार रोजगारी सृजना हुन सकेको छैन । औद्योगिकीकरण, पर्यटन क्षेत्र, निर्माण र कृषि क्षेत्र नेपालका लागि रोजगारप्रदायक पक्ष हुन सक्छन् । व्यक्ति स्वयम्ले स्वरोजगार बन्न सबैभन्दा सहज कृषि क्षेत्र हो । सामान्य ज्ञानकै भरमा काम गर्न सकिने र पारिवारिक पेशा भएकाले पनि कृषि क्षेत्र रोजगारी वृद्धिका लागि सहयोगी बन्न सक्छ । यसका लागि राज्यले प्रोत्साहन दिनु आवश्यक छ । सहुलियतमा ऋणदेखि अनुदानको व्यवस्था हुनु पर्दछ ।

कृषिलाई सरकारले प्राथमिकतामा राखेको भन्दै वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत महत्व दिएको हुन्छ । तर त्यसको प्रतिफल नागरिकले पाउन सकेका छैनन् । सहुलियतदेखि अनुदानसमेत वास्तविक किसानले नपाएका गुनासो हुँदै आएको छ । कृषिमा पनि धेरै क्षेत्रहरु छन्, जसले युवाहरुलाई व्यावसायिक बनाउन सक्छ । पशुपालन, तरकारी, मासुजन्य उत्पादनलगायत धेरै क्षेत्रमा लगानी र उत्पादन गर्न सकिने अवस्था छ । यसका लागि आवश्यक पर्ने मल, बीउविजन, दाना, औषधी तथा प्राविधिक सेवाजस्ता कुरामा स्पष्ट नीति अझै बन्न सकेको छैन । कहीँ कतै आफ्नै लगानीमा परम्परागतरुपमै भए पनि व्यावसायिक उत्पादन गरिएका उपजले बजार नपाएका धेरै उदाहरण पनि छन् ।

अनेक समस्याबीच व्यावसायिकरुपमा कृषि क्षेत्रमा लगानी गरेकाहरु यतिबेला कोरोना महामारीबाट थप संकटमा परेका छन् । आम नागरिक नै समस्यामा परेपछि व्यापार व्यवसाय अप्ठेरोमा पर्नु स्वभाविक हो । तर पशुपंक्षीको व्यापार गर्नेहरुलाई थप अप्ठेरो परेको स्पष्ट छ । पशुपालन गर्ने किसानहरुले आफ्ना उत्पादनलाई कहिलेसम्म भण्डारण गर्ने भन्ने समस्या सृजना भएको छ । दुग्धजन्य पदार्थ भण्डारण सम्भव नभएपछि दैनिक नोक्सानी सहनुको विकल्प छैन । लामो समयसम्म अवस्था यस्तै भइरहने हो भने पशुहरु नै संकटमा पर्ने देखिएको छ । जिल्लामा निषेधाज्ञा जारी रहँदा दूध बिक्री केन्द्रहरु बन्द भएका छन् । व्यावसायिक फार्म सञ्चालन गरेका किसानहरुलाई पशुको ज्यान जोगाउनेदेखि दूध बिक्रीको समस्या भएको छ ।

तरकारीदेखि कुखुरा व्यवसायीहरुको समस्या थप जटिल देखिएका छन् । यस्तो अवस्थामा राज्यबाट उनीहरुले के कस्तो सुविधा र सहुलियत पाउने भन्ने स्पष्ट हुन आवश्यक छ । नत्र बेरोजगारी बढ्नेमात्र हैन कि, लगानी नै डुबेपछि हुने मानसिक समस्याले समाजमा थप जटिलता सृजना हुनेछ । किसानका उत्पादनलाई राज्य नियन्त्रित संस्थाहरुले खरिद गर्ने सुनिश्चित गरिनु आवश्यक छ । संकटको अवस्थामा नागरिकले केही नोक्सान सहनु पर्दछ भने राज्यले पनि सहुलियत दिएर आफ्ना नागरिकको लगानी संरक्षण गर्ने वातावरण बनाउनु पर्नेछ । आउँदै गरेको बजेटले यस्ता विषयमा गम्भीरतापूर्वक सम्बोधन हुन जरुरी छ । तर कृषिप्रधान देशका किसानका समस्या र आवश्यकताको आजसम्म उचित सम्बोधन गर्नेतर्फ राज्यका निकायहरुबाट तत्परता देखाएको पाइएको छैन ।

Exit mobile version