सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुर २ स्थानीय तहहरुले शिक्षकको सम्पति विवरण आफैं पठाइदिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमले मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकाले शिक्षकहरुको सम्पति विवरण पठाइदिने व्यवस्था गरेको बताउनुभयो । यी बाहेक अधिकांश स्थानीय तहहरुका शिक्षकहरुको सम्पति विवरण भने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले हुलाक मार्फत काठमाडौं पठाएको छ ।

जिल्लामा अहिलेसम्म कति शिक्षकले सम्पति विवरण बुझाए भन्ने यकिन तथ्याङ्क आइनसकेको भन्दै शिक्षकहरुले व्यक्तिगत रुपमै पनि सम्पति विवरण पठाइरहेको उहाँले जानकारी दिनुभयोे । यही भदौ २८ गतेसम्म किताबाखानामा शिक्षकले विवरण दर्ता गराइसक्नुपर्ने छ । यसअघि पनि मकवानपुरका धेरै शिक्षकहरुले आफ्नो सम्पति विवरण समयमै बुझाएका थिएनन् । कोरोना महामारीको अवस्थामा काठमाडौं जान सम्भव नभएपछि शिक्षकहरुले अहिले हुलाकमार्फत सम्पति विवरण बुझाइरहेका छन् ।

हाल मकवानपुर जिल्लामा प्राथमिक तहका १ हजार ४ सय ७ जना, निम्न माध्यमिक तहका १ सय ८५ जना र मावि तहका १ सय ४६ जना शिक्षकहरु रहेका छन् । उनीहरुमध्ये ८० देखि ८५ प्रतिशत मात्रै स्थायी दरबन्दीका शिक्षकहरु भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख गौतमले बताउनुभयो । त्यस्तै उहाँका अनुसार स्थायी शिक्षक बाहेकका राहत शिक्षक, करारमा रहेका शिक्षक, इसिडि लगायतका शिक्षकहरुको सम्पति विवरण भने सम्बन्धित पालिकामा हुने गर्दछ ।