Home मुख्य समाचार रिक्त डाक्टरको पदमा ३ जनाको आवेदन

रिक्त डाक्टरको पदमा ३ जनाको आवेदन

हेटौँडा : हेटौँडा उपमहानगरपालिका अन्तर्गत हटिया अस्पतालमा रिक्त रहेको मेडिकल अधिकृत (डाक्टर) पदका लागि प्रकाशित बिज्ञापनमा ३ जनाको आवेदन परेको छ । गत चैत ९ गते सो पदको विज्ञापन प्रकाशित गरेकोमा १५ दिनको म्याद सकिँदासम्म ३ जनाको आवेदन परेको हो ।

आवेदकको लिखित परीक्षा वैशाख ८ गते सञ्चालन हुने परीक्षा समितिले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भएकाको अन्तरवार्ता मार्फत १ जना डाक्टर छान्ने हेटौँडा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रमुख सूर्यप्रसाद तिवारीले बताउनुभयो ।

तिवारीका अनुसार हाल हटिया अस्पतालमा दैनिक ३० देखि ५० जना बिरामी उपचारका लागि आउने गर्दछन् । यस अस्पतालमा डाक्टर उपलब्ध भएमा सामान्य बिरामी चेकजाँचका लागि अन्य टाढाका अस्पतालमा जानुपर्ने बाध्यता हट्ने अपेक्षा छ ।

हटिया अस्पतालमा एक जना मेडिकल अधिकृत (डाक्टर) सहित २ जना सिनियर अहेब, १ जना ल्याब टेक्निसियन, २ जना अहेब, १ जना सिनियर अनमी, १ जना अनमी र २ जना कार्यालय सहयोगीसहित कुल १० जना कर्मचारीहरुको दरबन्दी छ । यीमध्ये १ जना सिनियर अहेब र १ जना सिनियर अनमीको पद स्थायी र बाँकी अन्य पद करारका रहेका छन् ।
यस अस्पतालमा कार्यरत डा. नरेन्द्र केसीले गत मंसिरमा राजीनामा दिएपछि मेडिकल अधिकृतको पद रिक्त रहँदै आएको थियो । तीन महिना अवधिसम्म हटिया अस्पताल डाक्टरविहीन भएपछि चैत ९ गते पदपूर्तिका लागि उपमहानगरपालिकाले विज्ञापन गरेको थियो ।