कलाकार नीर शाहलाई पुरस्कृत गरिँदै ।

हेटौँडा: वरिष्ठ कलाकार नीर शाहलाई यस वर्षको विजुली माया बःन श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ । मंगलबार साँझ हेटौँडाको एभोकाडो होटेलमा भएको विशेष समारोहमा शाहलाई एक लाख रुपैयाँ राशिसहित सम्मान गरिएको हो । समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आमाको नाममा स्थापना गर्नुभएको पुरस्कार प्राप्त गर्नुहुने शाह सोह्रौं कलाकार हुनुहुन्छ ।

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानको आयोजनामा मंगलबार पुरस्कार समर्पण समारोह भएको हो । पुरस्कार समर्पण समारोहमा स्थानीय कलाकारले गीत समेत प्रस्तुत गरेका थिए । भीम विरागको १०१औं जन्मजयन्तीको अवसरमा पुरस्कार समर्पण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षता तथा अर्का कलाका नगेन्द्र थापाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण समारोहमा कलाकार नीर शाहको विषयमा साहित्यकार एलबी क्षेत्रीले जानकारी दिनुभएको थियो ।

यसअघि अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम, डा. किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन् ।