हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५, नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । शनिबार एक समारोहका बिच ‘बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी’ भन्ने उद्देश्यले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको हो ।
निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त वडा घोषणा पत्रमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हस्ताक्षर गर्नुहुँदै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो । वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुहुँदै मेयर लामाले उपमहानगरले घोषणालाई अभियानको रुपमा लिएको बताउनुभयो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दैमा बालश्रम र बालविवाह अन्त्य नहुने र केही हदसम्म न्यूनीकरण हुँदै जाने उहाँको विश्वास छ ।
बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरेर ५१ वटा सूचक पूरा भएसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको मेयर लामाले जानकारी दिनुभयो । ४७ वटा सूचकमा शतप्रतिशत र ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गर्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको बताउन्ुभयो । वडामा २ हजार १६ बालक र १ हजार ७ सय ८२ बालिका गरी ३ हजार ७ सय ९८ बालबालिका रहेका छन् । २०७९ सालको घरधुरी सर्वेक्षणअनुसार २ हजार ८ सय ७५ घरधुरी छन् ।
१४ हजार १ सय २७ जनसंख्या वडामा ७ हजार ९८ महिला र ७ हजार २९ पुरुष रहेको हेटौंडा–५, नम्बर वडाका वडाध्यक्ष सुशिल घिमिरेले जानकारी दिनुभयो । बाल विकास केन्द्रसहित सामुदायिक र संस्थागत गरी ९ वटा विद्यालय सञ्चालनमा रहेको घिमिरेले जानकारी दिनुभयो । वडाको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै वडाध्यक्ष घिमिरेले २०७९ साल मंसिर १५ गते सरोकारवालाको उपस्थितिमा अभिमुखीकरण तथा प्रतिवद्धता जाहेर गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको रुपमा अभियान अघि बढेको जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन दिगोपनाका लागि वडाको अन्तिम प्रतिवेदन, स्थितिपत्र २०८१ र पञ्चवर्षीय रणनीतिक योजना तयार भइसकेको बताउनुभयो । पूर्णखोप वडा घोषणा, पूर्वसाक्षर वडा घोषणा, खुला दिशामुक्त वडा घोषणा भइसकेको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शनअनुसार २०७९ साल भदौ २४ गते बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिकाका प्रवक्त सविन न्यौपाने, जनप्रतिनिधि, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, शिक्षक, विद्यार्थी लगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।