हेटौँडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका सभापति अच्युतम लामिछानेले रास्वपा जनताको अवस्था बदल्न कटिबद्ध रहेको बताउनुभएको छ । शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा मकवानपुरमा आयोजित चियापान कार्यक्रममा बोल्नुहुँदै उहाँले रास्वपाले वर्तमान व्यवस्थालाई मानेर जनताको अवस्था बदल्न लागिरहेको बताउनुभयो ।
उहाँले संघीयताबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै सांसदहरुको संख्या घटाउनुपर्ने बताउनुभयो । आर्थिक अवस्था कमजोर भएको देशमा अहिलेको संख्याको सांसद आवश्यक नपर्ने उहाँको भनाई छ । उहाँले अर्बाैं जनसंख्या रहेको छिमेकी मुलुक भारतमा ५ सयको संख्यामा लोक सभा सदस्य हुुने तर तीन करोड जनता रहेको नेपालमा अहिलेको संख्याको सांसद आवश्यक नपर्ने उहाँको भनाई छ । उहाँले कार्यकर्ताहरुलाई जनताकोे विश्वास जित्ने काम गर्न पनि आग्रह गर्नुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रको हेटौँडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछानेले नेपाली राजनीतिमा रास्वपाले चाँडै जनताको विश्वास जित्न सकेको बताउनुभयो । जनताले अहिले रास्वपालाई पुराना पार्टीहरुको विकल्पको रुपमा हेरिएको भन्दै उहाँले यो विश्वासलाई जोगाइराख्न आग्रह गर्नुभयो । यदि जनताको विश्वासलाई जोगाउन नसकेकोमा रास्वपाको विकल्प अन्य दल जनताले खोज्ने उहाँको भनाई छ । यसअघि कुनै समय नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा एमालेलाई पनि जनताले वैकल्पिक दलको रुपमा लिए पनि त्यो जनताको विश्वासलाई जोगाउन नसकेको उहाँले बताउनुभयो । उहाँले अहिले रास्वपा पनि सरकारको विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको बताउनुहुँदै राम्रा काम गर्न आग्रह गर्नुभयो ।
पार्टी मकवानपुरका सभापति भरत पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पार्टीका प्रदेश उपसभापति दिनेश हुमागाई, नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष विष्णु दाहाल, नेपाली काँग्रेसका जिल्ला सचिव भीमसेन महत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मकवानपुर जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाका उपाध्यक्ष अर्जुन प्रसाद गौतम, नेकपा मालेका उपाध्यक्ष हरीकृष्ण अधिकारीको उपस्थिति रहेको थियो ।