हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयमा ३ तलाको १८ कोठे भवन बन्ने भएको छ । भवनका लागि दुई करोड ५२ लाख लागत अनुमान गरिएकोमा निर्माण कम्पनिले एक करोड ६१ लाख रुपैैयाँमा भवन निर्माण गर्न सम्झौता गरेको १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभएको छ ।
विद्यालयको नाममा लालपुर्जा नहुँदा विद्यालय विकासमा अवरोध भएको विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद सुवेदीले जानकारी दिनुभयो । शौचालय र खानेपानीको राम्रो व्यवस्था रहेको विद्यालयमा २६ कोठाको २ तले भवन रहेको छ । २०२८ सालमा स्थापित विद्यालयमा बाल कक्षादेखि १० कक्षासम्म पढाई हुँदै आएको छ । विद्यालयमा ३ सय ५ जना विद्यार्थी अध्यनरत छन् ।
यतिबेला विद्यालयले एक महिनापछि सुरु हुने एसईईको तयारीका लागि विद्यार्थीलाई अतिरिक्त कक्षाको सुरुवात गरेको छ । १० नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा आइतबारबाट अतिरिक्त तयारी कक्षा सुरु भएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार एसईई अभ्यास परीक्षामा ४० प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । अभ्यास परीक्षा उत्तीर्ण गर्न नसक्ने विद्यार्थीहरुलाई बढि ध्यान दिएर पढाउँदै र हरेक दिन एउटा विषयको परीक्षा लिँदै र उनीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गरेको उहाँले बताउनुभयो ।