हेटौंडाः हेटौंडामा भदौ महिनामा २५ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा पछिल्लो महिनामा २० वर्षभन्दा कम उमेरका २५ जना किशोरीहरु आमा बनेका अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिनुभयो ।
हेटौंडा अस्पतालमा भदौ महिनामा ३ सय ३६ गर्भवती सुत्केरी भएका छन् । २ सय २९ जना सामान्य अवस्थामा सुत्केरी हुँदा ९७ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । १० गर्भवतीको जटिल अवस्थामा सुत्केरी गराइएको झाले बताउनुभयो । उहाँका अनुसार सानो उमेरमा आमा बन्दा शारीरिक विकास राम्रोसँग नहुने भएकाले महिलालाई विभिन्न रोग लाग्न सक्छ ।
पछिल्लो समयमा सानो उमेरमा आमा भएका अधिकांश महिलाहरुमा पाठेघर खस्ने समस्या हुने गरेको हेटौंडा अस्पतालले जनाएको छ । महिलामा रोगहरु देखिनुको मुख्य कारण भनेको सानो उमेरमा विवाह गरी बच्चा जन्माउनु रहेको महिला रोग विशेषज्ञहरुको भनाइ छ ।