तस्बिरः गुगल

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा प्रहरीले मापसे चेकिङ गर्न कडाई गर्ने भएको छ । हेटौंडामा दैनिकजसो भइरहेको सवारी दुर्घटनालाई कम गर्न मापसे चेकिङमा कडाई गर्ने भएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रहरीबीच हेटौंडामा मापसे चेकिङ कडाई पार्ने निर्णय भएको थियो । मापसे चेकिङमा भरपर्दो माध्यम बे्रथलाइजर हो तर मकवानपुर प्रहरीसँग भने मापसे चेकिङ गर्ने ब्रेथलाइजर मेशिन नभएको पाइएको छ ।

जिल्लामा अहिले मापसे चेकिङ गर्ने ब्रेथलाइजर मेशिन एउटामात्र रहेको त्यसले मात्र धान्न नसकिने जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डे बताउनुहुन्छ । दुर्घटना हुनुको मुख्य कारणमध्ये मापसे गरेर सवारी साधन चलाउनाले हुने गरेको उहाँले बताउनुभयो । जिल्लाका अहिले तत्कालका लागि हामीले जिल्ला प्रशासनसँग र सम्बन्धित सरोकारवालाहरुसँग ४ वटा ब्रेथलाइजर मेशिन उपलब्ध गराउन भनेका छौं र त्यो २–३ दिनमा प्राप्त हुने उहाँले बताउनुभयो ।

अहिले हेटौंडाका विभिन्न सडकखण्डमा पनि त्यही एउटै ब्रेथलाइजरबाट मापसे चेकिङ गर्ने गरेको उहाँले बताउनुभयो । माग भएबमोजिमको ब्रेथलाइजर उपलब्ध भएपछि हेटौंडाका जुनसुकै सडकखण्डमा जुनसुकै समयमा छड्के चेकिङ हुने उहाँले बताउनुभयोे । यदि मापसे गरेर सवारी साधन चलाएको पाइएमा कडा कारबाही गर्ने पनि उहाँले बताउनुभयो ।