Home अर्थ/व्यापार भोलिबाट राष्ट्रिय जनगणना–२०७८ सुरु हुँदै

भोलिबाट राष्ट्रिय जनगणना–२०७८ सुरु हुँदै

हेटौंडाः नेपालमा राष्ट्रिय जनगणना २०७८ भोलि बिहीबारबाट सुरु हुँदैछ । देशभरको सबै घर संरचनामा पुगेर प्रत्येक घर, परिवार र व्यक्तिहरुको विवरण संकलन गरिने भएको हो । नेपालमा प्रत्येक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । देशभर ४० हजार गणकहरु परिचालन गरिने केन्द्रिय तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो ।

पहिलो चरणमा सुपरिवेक्षकहरुले प्रत्येक घर तथा परिवारमा पुगेर घरपरिवार सुचीकरण फराम भरिसकेका छन् । उनीहरुले घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेका पुरुष, महिला र अन्य लिङ्गी तथा परिवारले कृषि सम्बन्धी विवरण संकलन गरिसकेका छन् । बिहीबारबाट सुरु हुने जनगणना भने गणकहरु खटाइनेछ । गणकहरु प्रत्येक घरमा पुगेर मुख्य प्रश्नावली मार्फत परिवारको विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाईसराई लगायत जनसांख्यिक विवरणहरु संकलन गर्ने निर्देशक लामिछानेले बताउनुभयो ।

त्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म १५ दिन राष्ट्रिय जनगणना मार्फत तथ्यांक संकलन हुनेछ ।
यो पटकको जनगणनामा जो व्यक्ति जहाँ अक्सर बसोबास गर्नेछ सोही स्थानबाटै उसको गणना हुनेछ । यस्तै परिवारमा विदेशमा बसेकाहरु छुट्टै, अन्य क्षेत्रमा काम गर्नेहरुको तथ्यांक संकलन हुनेछ । नेपालमा राष्ट्रिय जनगणनाबाट करिब ३ करोड जनसंख्या पुग्ने अनुमान गरिएको छ । आधुनिक समाजमा अहिले प्रजनन क्षमतामा कमी भएको तथ्यांकहरु सार्वजनिक भएकाले पनि जनसंख्या खासै धेरै नबढ्ने लामिछानेको भनाई छ । नेपालमा विसं १९६८ मा पहिलो पटक जनगणना भएको थियो । नेपालमा २००९/११ मा भएको आधुनिक जनगणनामा ८० लाखको गणना भएको थियो । नेपालमा २०६८ को जनगणनामा २ करोड ७० लाख नागरिकको गणना भएको थियो ।

मकवानपुरमा जनगणनाको तयारी पुरा
हेटौंडाः मकवानपुरमा बिहीबारबाट सुरु हुने राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरमा जनगणनाको लागि गणकहरु आजबाटै आआफ्नो भूगोलमा पुगिसक्ने तथ्यांक कार्यालय बागमती प्रदेशको तथ्यांक अधिकृत राजेश दासले बताउनुभयो । मकवानपुरमा ५ सय ६८ गणकको दरबन्दीमा ५ सय ५० गणकहरु खटाइएको छ । उहाँको अनुसार मकवानपुरमा जनगणनाका लागि ७ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । तथ्यांक संकलन गर्न सहज हुने लक्ष्यसहित मकवानपुरको १० स्थानीय तहलाई मर्ज गरेर ७ वटा स्थानीय जनगणना कार्यालय संचालनमा ल्याइएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा २ वटा स्थानीय जनगणना कार्यालय स्थापना भएको छ । यस्तै थाहा नगरमा ईन्द्रसरोवर गाउँपालिकालाई समेट्ने गरी एक र कैलाश गाउँपालिका र राक्सिराङलाई समेट्ने गरी राक्सिराङमा एक, भीमफेदी र मकवानपुरगढीलाई समेट्ने गरी एक, बकैया र बागमतीलाई समेट्ने गरी बकैयामा एक वटा स्थानीय जनगणना कार्यालय संचालनमा ल्याइएको छ । स्थानीय जनगणना कार्यालयलाई कुनै प्राविधिक समस्या आएमा प्रदेश जनगणना कार्यालय बागमती प्रदेशको कार्यालय हेटौंडाले सहयोग गर्ने तथ्यांक अधिकृत राजेश दासले जानकारी दिनुभयो ।

यो वर्ष हुने राष्ट्रिय जनगणनामा बौद्धिक अपाङ्गता हो होइन भन्ने अटिजम सम्बन्धी पनि तथ्यांक संकलन हुने भएको छ गणकहरुले मुख्य प्रश्नावलीमा ३७ वटा प्रश्न सोध्नेछन् । एक घरको तथ्यांक संकलन गर्न झण्डै आधि घण्टा लाग्ने दासले बताउनुभयो । यो वर्षको जनगणनामा मृत्यु सम्बन्धी विवरण पनि गणकहरुले सोध्नेछन् । गणकहरुले ‘गत १२ महिनामा तपाईको परिवारमा कसैको मृत्यु भएको थियो’ भनेर प्रश्न गर्नेछन् । गणकहरुले मृत्यु भएकाको संख्या लगायत मृत्युसम्बन्धी विवरण समेत संकलन गर्नेछन् । यस्तै महिलाको नाममा जग्गा भए नभएको पनि यो पटकको जनणनामा समेटिएको छ ।

बागमती प्रदेशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको तथ्यांक संकलन गर्दै जनगणना कार्य शुभारम्भ हुने भएको छ । यस्तै मकवानपुरसहित अन्य जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी, जिसस प्रमुखहरु लगायतको संकलन गरेर जनगणना सुरु गरिने बागमती प्रदेश जनगणना कार्यालय हेटौंडाले बताएको छ ।