मनहरीः पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ र वडा नम्बर ५ जोड्ने अस्थायी पुल निर्माण सम्पन्न भएको छ ।
चाडबाडको बेला स्थानीय वडाबासीलाई आवतजावतमा सहज बनाउनको लागि मनहरी–९ को रजैया र ५ नम्बर वडाको दर्दरा बसन्तपुर र डिल्लिपुर जोड्ने अस्थायी पुल स्थानीय अगुवा नेता रामप्रसाद कलाखेली, दिपेन्द्र अधिकारी र गोबिन्द सापकोटाको अगुवाईमा निर्माण भएको हो ।
५ नम्बर वडाबाट अस्थायी पुल निर्माणको लागि ३ लाख बजेट समेत छुट्याएको थियो । काम गर्दै जादा ६ वटा हिमपाइप अपुग भएपछी गाउँपालिकाबाट थप २ लाख दिने भएको निर्माण समितिका अध्यक्ष गोबिन्द सापकोटाले बताउनुभयो । सो पुलमा हाल साना–मझौला सवारीसाधन मात्र आवतजावत गर्न सकिने अवस्था रहेको छ ।
पानीको बाहब घटेपछि सबै सवारीलाई सहज बनाउने तयारीमा रहेकोले मालबाहक सवारी तत्काल नगुडाउन समितिका अध्यक्ष सापकोटाले आग्रह गर्नुभयो । अस्थायी पुल बनेपछि वडाबासीलाई दैनिक कार्यमा हिड्डुल गर्न सहज भएको छ ।