हेटौंडाः नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै बामगती प्रदेशमा एमाले नेताहरुले आफ्नो सक्रियता बढाएका छन् । प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलको सरकारलाई टिकाउन उनीहरुले पार्टीमा छलफल अघि बढाएका हुन् ।

बागमती प्रदेशमा अहिले एमालेको एकल बहुमतको सरकार छ । माधव नेपाल पक्षको नेतृ अष्टलक्ष्मी शाक्यसँग छलफल गरेरमात्रै मुख्यमन्त्री डोरमणि पौडेलको सरकार पुनर्गठन हुनसक्ने एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले बताउनुभयो ।

केन्द्रमा जे जस्तो भएपनि केन्द्र सरकारको प्रभावले बागमती प्रदेशमा शक्ति सन्तुलन फेरबदल नहुने निरौलाले दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको चयन संसदबाट हुनुपर्ने तर लोकसेवा पास गरेर आएकाको विषय नभएको उहाँले स्पष्ट गर्नुभएको छ । सर्वोच्च अदालतले गरेको गैरसंवैधानिक व्याख्यामा नेकपा बागमती प्रदेशको सधैं विमत्ति भएको निरौलाले बताउनुभयो ।

यता माधव नेपाल पक्षका सांसदहरु पनि एमाले मिल्नुपर्नेमा एकमत छन् । प्रदेशका पूर्वमन्त्री अरुण नेपालले सरकार पुनर्गठन गर्नेबारे पार्टीमा छलफल भएको जानकारी दिनुभयो । प्रदेश सरकारको पुनर्गठन भएसँगै राजनैतिक नियुक्ति, पार्टी एकता गर्नेबारे छलफल अघि बढ्ने बताउनुभयो । अहिले छलफलको सुरुवात भएको उहाँको भनाई छ । एमाले बागमती प्रदेशले माथिल्लो पार्टी पंक्तिलाई सकारात्मक सन्देश दिनेभन्दै सबै मिलेर प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट पास गरेको पूर्वमन्त्री नेपालले बताउनुभयो ।

अहिलेको अवस्थामा मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार भने नढल्ने उहाँले संकेत गर्नुभयो । छलफल कुन तहसम्म पुग्छ त्यसैमा निर्भर हुने पूर्वमन्त्री नेपालको भनाई छ । केन्द्रमा देउवाको सरकार बनेसँगै त्यसको प्रभाव बागमती प्रदेशमा पर्ने र सरकार परिवर्तन हुनेमा केही उत्साहित देखिएपनि त्यो पानीको फोकाजस्तै हुने सचेतक निरौलाले ठोकुवा गर्नुभएको छ ।