हेटौंडाः कोरोना भाइरस संक्रमणको कारण एक हप्ताभित्रमा एकै टोलका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को एक टोल विकास संस्थामा कोरोना संक्रमणबाट १ हप्ता भित्रमा दुई जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा ५५ वर्षीय पुरुष रहेका छन् । उनको काठमाडौंस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणपछि जेठ ४ गते काठमाडौं लगिएका उनलाई बिहिबार चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । कोरोना संक्रमणपछि निमोनिया समेत भएको उनलाई पछिल्लोे समय मृगौलामा समेत समस्या देखिएपछि स्वास्थ्य अवस्था बिग्रिएको परिवारका सदस्यले जनाएका छन् ।
६ दिन अगाडी मात्र कोरोनाको कारण सोही टोलका ५२ वर्षीय पुरुषको चितवनमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक दुबै जनाको घर ५० मिटरको दुरीमा रहेको छ । कोरोना संक्रमणको कहर हेटौंडाको मुख्य बजार क्षेत्रमा मात्र नभई भित्री गाउँहरुमा समेत बढ्दै जान लागेको हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो ।
१ हप्ताको अन्तरालमा एकै टोलका दुई जनाको मृत्यु भएको घटनाले अब हामी सबै अझ बढी सतर्क रहन पर्ने देखिएको उहाँको भनाई रहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि वडाले बिभिन्न प्रयासहरु गरिरहेको बताउनुहुँदै वडा अध्यक्ष भण्डारीले अब अझै सशक्त रुपमा कोरोना नियन्त्रणको अभियानमा लाग्ने जानकारी दिनुभयो ।