मकवानपुरकी साहित्यकार मुना अर्यालको पुरा नाम मुना धिताल अर्याल हो । उहाँको स्थायी ठेगाना हेटौंडा–२, संगमचोक भएपनि उहाँ हाल हेटौँडा–१८, मानेडाँडामा बसोबास गर्नुहुन्छ ।
उहाँको जन्म २००७ साल पुस २७ गते गोरखामा भएको हो । मुनाकी माता नन्दकुमारी धिताल तथा पिता अम्बिका प्रसाद धिताल हो । उहाँको बाल्यकाल गोरखा तथा काठमाडौंमा बित्यो । सुरुमा गोरखामै कक्षा ३ सम्म अध्ययन गरेपछि उहाँ काठमाडौंस्थित विश्व निकेतनमा कक्षा ७ सम्म पढ्नुभयो । यसपपिछ पुनः गोरखाकै अमरज्योति माविबाट एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले काठमाडौंको त्रिचन्द्र कलेजबाट आइए तथा पद्मकन्या क्याम्पसबाट अंग्रेजी तथा मनोविज्ञान विषयमा स्नातक तह उत्तीर्ण गर्नुभयो । २०२९ सालमा शङ्कर प्रसाद अर्यालसँग बिवाह भएपछि उहाँ मकवानपुरको हेटौँडा आइपुग्नु भएको हो । विवाहपछि उहाँले हेटौँडा–४ स्थित भुटनदेवी माविमा अध्यापन सुरु गर्नुभयो । २ वर्ष पढाएपछि कृषि सामग्री संस्थानमा २ वर्ष काम गर्नुभयो ।
उहाँले फेरि २०४० सालदेखि काठमाडौंमा एक निजी विद्यालय सञ्चालन गर्न थाल्नुभयो । यसै शिलशिलामा उहाँले साइ केन्द्र ताहाचल बालविकास केन्द्रसँग पनि जोडिँदै विभिन्न विषयमा कति संकलन तथा अनुवादन गर्न थाल्नुभयो । कृति अनुवादको सिलसिलामा नै उहाँले आफै पनि साहित्यिक कृतिमा नजिकिँदै गएको उहाँको अनुभव छ । उहाँले हालसम्म ईश्वराम्मा अनूदित २०६०, श्री सत्यसाई आध्यात्मिक शिक्षा (बालविकास प्रथम समूह प्रथम वर्ष), श्री सत्यसाई आद्यात्मिक शिक्षा (बालविकास प्र. समूह दोस्रो वर्ष ), सामान्य ज्ञान– (समूह लेखन) , सामान्य ज्ञान– महाभारत, सामान्य ज्ञान– रामायण ,२०७१, प्रेमज्योति–गीति एल्बम, भजन– एल्वमहरु, आत्म सलिल –महाकाव्य २०७६, र महाकाश –महाकाव्य २०८० कृतिहरु प्रकाशन गरिसक्नुभएको छ । उहाँ मकवानपुरमा महाकाव्य लेख्ने पहिलो साहित्यकार हुनुहुन्छ ।
उहाँले हालसम्म नारी स्रष्टा सम्मान–२०७०, श्री भुटनदेवी हाइस्कुल मैत्री समूह २०३१,वासुदेव भानु स्मृति सम्मान, २०७३, महामण्डला साहित्य सम्मान, २०७४, सुशीला दङ्गाल सिर्जनशील नारी सम्मान–२०७५, थाहा वर्ष सम्मान–२०७७, हरि उत्कृष्ट प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै मङ्गलादेवी श्रेष्ठ स्मृति साहित्य सम्मान–२०७७, साहित्य संवाद काव्य सेवा सम्मान–२०७७, लघुकथा चौतारी मकवानपुर सम्मान–२०८०, युसुफदिन हालिमा, पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान–२०८०, महालक्ष्मी साहित्य पुरस्कार–२०८१ , रोहिणी तीर्थ माता पिता साहित्य सदन पुरस्कार–२०८१, हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार एवं सम्मान–२०८२, हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुरद्वारा स्रष्टा सम्मान–२०८२ लगायत दर्जनौं सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ ।
अर्याल विभिन्न समयमा अमर ज्योति विद्यालय, कलङ्की काठमाडौंका संस्थापक, ज्योति महिला साक्षरता केन्द्र काठमाडौंका संस्थापक, आँचल साहित्य कलापुञ्ज, हेटौंडा मकवानपुरका संस्थापक अध्यक्ष, मातृभूमि साहित्य समाज हेटौंडाका सल्लाहकार, लेखक संघका सल्लाहकारको रुपमा उहाँ निरन्तर साहित्यको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।








