हेटौंडा : मकवानपुर जिल्लाका विभिन्न विद्यालयबाट विद्यालय शिक्षा परीक्षा (एसईई) मा नेपाली विषयमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । आइतबार नेपाली भाषा शिक्षक समिति मकवानपुरले हेटौँडामा एक कार्यक्रमको आयोजना गरी जिल्लाका नेपाली विषयमा ४ जिपिए ल्याउने सबै विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको हो ।
समितिले जिल्लाका ३३ विद्यालयका १ सय ७७ जना विद्यार्थीहरु तथा उनीहरुलाई नेपाली विषय अध्यापन गराउने ४६ जना शिक्षकहरुलाई सम्मान गरेको हो । जिल्लामा नेपाली विषयमा उत्कृष्ट हुन सफल सामुदायिक विद्यालय तर्फ हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट १४ जना र हेटौँडा–५ स्थित बालज्योति माविबाट १३ जना विद्यार्थीले नेपाली विषयमा ४ जिपिए ल्याएको आयोजकले जनाएको छ । यस्तै संस्थागत विद्यालयहरुको तर्फबाट हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलबाट २४ जना र हेटौँडा ४ स्थित नवोदय शिशु सदनबाट पनि २४ जना विद्यार्थीले नेपाली विषयमा ४ जिपिए ल्याएका थिए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली उपन्यासमा वात्स्यायन कामसुत्रको प्रभाव शिर्षकमा विद्यावारिधी गर्नुभएका घनश्याम घिमिरे र नेपाल संस्कृत विश्वविद्यालयबाटै नेपाली मुक्तकमा बक्रोक्ति विषयमा विद्यावारिधी प्राप्त गर्नुहुने विश्वनाथ सञ्जेललाई पनि सम्मान गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष ज्योति न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपाने, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई, नेपाली भाषा शिक्षक समितिका सल्लाहकारहरु ह्याग्रिव आचार्य, माधव खतिवडा, विष्णुप्रसाद गौतम, विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष भरत पोखरेल, सामाजिक शिक्षा समाज मकवानपुरका महासचिव चिरञ्जीवी घिमिरेको आतिथ्य रहेको थियो ।










