काठमाडौं र ललितपुर जिल्ला शाखाको नयाँ समिति गठनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : स्वतन्त्र पत्रकार संघ काठमाडौं र ललितपुर जिल्ला शाखाले एकसाथ साधारण सभा तथा अधिवेशन आयोजना गरेको छ । आइतबार काठमाडौंमा भएको अधिवेशनबाट काठमाडौं जिल्ला शाखाको अध्यक्षमा कृष्णराज तिमल्सिना निर्वाचित हुनुभएको छ ।

काठमाडौं शाखाको दशौं साधारण सभा तथा पाँचौँ अधिवेशनले तिमल्सिनाको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा रीना श्रेष्ठ, सचिवमा सानुराजा महर्जन र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा मोहन अधिकारी, दामोदर भट्ट, सुनिता अग्नि, फोमस भण्डारी र सुरेश श्रेष्ठ चयन हुनुभएको छ । कार्यक्रममा कोषाध्यक्ष रीता श्रेष्ठ प्रधानले आर्थिक वर्षको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा ललितपुर शाखाको आठौँ साधारण सभा तथा चौथो अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले सरिता थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णराज तिमल्सिना, सचिवमा धर्मलाल मानन्धर, सह–सचिवमा शंकर घिमिरे र कोषाध्यक्षमा मनोज खड्का रहनुभएको छ । अधिवेशनसँगै संघको उपत्यका भेलाको समेत आयोजना गरिएको थियो । अधिवेशनको उद्घाटन संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले गर्नुभएको थियो ।