हेटौँडा : हेटौँडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । सोमबार विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ तिमल्सिनाको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा स्वर्ण महोत्सव सम्पन्न भएको हो ।
स्वर्ण महोत्सव समारोहलाई मुख्यमन्त्री बानियाँले अनलाईनमार्फत सम्बोधन गर्नुभएको थियो । स्वर्ण महोत्सवलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले विद्यालय बस र शैक्षिक भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयले विद्यार्थीबीच विविध प्रतियोगितात्मक खेलकुदको आयोजना गरेको थियो । स्वर्ण महोत्सव समारोहमा विद्यालयका संस्थापक, सहयोगी, पूर्व प्रधानाध्यापकलाई सम्मान गरिएको थियो । कक्षा–८ की छात्रा आराध्या अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द उप्रेतीले विद्यालयको अवस्था र आगामी योजना बारे जानकारी गराउनुभएको थियो ।
प्रधानाध्यापक उप्रेतीले ४ कोठे शैक्षिक भवन निर्माण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुहुँदै विज्ञान, गणित, सामाजिक प्रयोगशाला निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । प्रारम्भिक बालविकास कक्षादेखि ८ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गर्नु विद्यालयको प्रमुख चुनौति भएको प्रधानाध्यापक उप्रेतीको भनाइ थियो । कक्षा–५ की छात्रा स्वस्तिका हुमागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । स्वर्ण महोत्सव समारोहमा विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका थिए । स्वर्ण महोत्सवको अवसरमा आयोजित प्रतियोगितात्मक खेलकुदका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियोे । विद्यालयले निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भ अनावरण गरिएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरका उपप्रमुख राजेश बानियाँको पनि आतिथ्य रहेको थियो ।










