बागमती प्रदेश सभा बैठकमा सहभागी । फाइल तस्वीर ।

हेटौँडा : बागमती प्रदेशसभा बैठकको कार्य सूचिबाट चिठ्ठा विधेयक हटाइएको छ । सत्तारुढ दल एमालेको असन्तुष्टिका बिच प्रदेशसभाको बैठकको कार्य सूचिबाट चिठ्ठा विधेयकको प्रस्ताव हटाइएको हो ।

मंगलबार बसेको बैठकमा प्रदेश स्तरिय चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गर्ने तयारी रहको थियो । सत्तारुढ दलहरु बिच नै विवाद देखिएपछि बैठकको कार्य सूचिकबाट सो विधेयकलाई हटाइएको हो ।

भदौ १५ गतेको बैठकमा प्रदेश मामिला समितिले तयार गरेको उक्त विधेयकको प्रतिवेदन पेश गरेको थियो । समितिका सभापति छिरिङ दोर्जे लामाले पेश गरेको उक्त विधेयकको प्रतिवेदन माथि भदौ १६ गतेको बैठकमा छलफल सुरु भएको थियो । सोही बैठकमा पारित गर्ने तयारी गरिएपनि दलहरु बिच सहमती नहुँदा विधेयक माथिको छलफल स्थगित गरिएको थियो ।

प्रदेश सभा सचिवालयका अनुसार चिठ्ठा विधेयकमा सत्तारुढ दल एमालेको असहमति कायम रहेकाले बैठकको कार्यसूचिबाट हटाइएको हो । एमालेले तत्काल उक्त विधेयक पारित गर्न नचाहेको सचिवालयका एक पदाधिकारीले बताउनुभयो । विगतदेखि नै उक्त विधेयकको विरुद्धमा देखिएको एमालेले प्रतिवेदन माथिको छलफलमा समेत असन्तुष्टि व्यक्त गर्दै आएको र समस्या हल गर्न सचिवालयको सहजिकरणको क्रममा पनि एमाले सकारात्मक नरहेको उहाँले बताउनुभयो ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियका अनुसार विधेयकका प्रतिवेदन अध्ययन गर्न बाँकी रहेको र केही समय लिने गरी विधेयक रोकीएको हो । विधेयकका विविध समस्याहरु हल गर्न समितिले प्रतिवेदनमा केही विषयहरु सम्बोधन गरे पनि थप छलफल गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सत्तारुद्ध दलहरु बिच नै कुरा नमिलेपछि विधेयक अघि नबढाइएको बताउनुभयो । प्रतिपक्ष दलले सहयो गरेर छलफलको क्रममा अघि बढेपनि सत्तारुद्ध दलहरु बिच सहमती हुन नसकेको उहाँले बताउनुभयो । सत्तारुढ दल कांग्रेस विधेयक अघि बढाउन सकारात्मक देखिएको भएपनि एमाले तयार नहुँदा विधेयक रोकीएको उहाँले बताउनुभयो ।

प्रदेशसभाको मंगलबारको बैठकमा शुन्य समय र समितिका सदस्यहरुको हेरफेर हुने कार्यसुचि रहेको छ ।