
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रामक रोगहरुको सुक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रामक रोगहरूको सुक्ष्म निगरानी हुनेछ ।
नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र त्यसको समाधान गरिहाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुन लागेको जनाइएको छ । शुक्रबार पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई कार्यक्रम सञ्चालन बारेको जानकारी पत्र हस्तान्तरण गर्नुभएको छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक तथ्यांक उपलब्ध गराउनुका साथै अन्य सहयोग गर्न पनि लामिछानेले गाउँपालिकालाई अनुरोध गर्नुभयो ।
रोग नियन्त्रण महाशाखाले विभिन्न सूचक तयार गरी पहिलो चरणमा देशभरका ४४ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा यो कार्यक्रम लागु हुनेछ भने बागमती प्रदेशमा ८ वटा स्थानीय तह समेटिएका छन् ।
यो कार्यक्रम पालिकामा कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडामा २५ जनाको इपिडेमिक इन्टेलिजेन्स भोलेन्टिएर टिम गठन हुने कार्यक्रम कार्यान्वयन गराउने संस्था पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत लामिछानेले बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक, जनप्रतिनिधिसहितको टिमलाई आवश्यक तालिम प्रदान गरी रोग निरीक्षणमा लगाइनेछ ।









