Home खेलकुद खेलकुदमा बागमती गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तहको रुपमा सम्मानित

खेलकुदमा बागमती गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तहको रुपमा सम्मानित

उत्कृष्ट पालिकाको रुपमा सम्मान ग्रहण गर्नुहुँदै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान ।

हेटौँडा : राष्ट्रियस्तरको गोल्डकप फुटबल प्रतियोगिताको आयोजना, आफ्नै लगानी र श्रमदानमा रंगशाला निर्माण, फुटबल एकेडेमी नै सञ्चालनको अन्तिम तयारीमा रहेको मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृट स्थानीय तहकोरुपमा सम्मानित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा मकवानपुरको बागमती गाउँपालिकालाई शुक्रबार सम्मान गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएकाले क्षमता भएर पनि माथि आउन नसकेका खेलाडीहरुलाई पालिकाले खेलकुद एकेडेमीमा राखेर पढाईसँगै प्रशिक्षण गराउने उद्देश्यले खेलाडीको छनौट गरिरहेको छ भने सर्वाधिक पुरस्कार राशी रहेको गोल्डकपको आयोजना र श्रमदानबाट खेल मैदानहरुको निर्माण र पालिकाले खेलकुदमा बजेट नै विनियोजन गरेर योगदान गरेकोमा राखेपले सम्मान गरेको बताइएको छ । नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा पालिकाले गरेको कार्य उदाहरणीय रहेको भन्दै सम्मान गरेको हो ।

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपमा सदस्य सचिव टंकलाल घिसिङ लगायतले बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, बागमती गाउँपालिकाका खेलकुद समितिका अध्यक्ष रहर सिं थिङ र निवर्तमान अध्यक्ष अरुण बल लगायतलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

राखेपले हरेक वर्ष खेलकुद क्षेत्रमा गरेको लगानी, प्रतियोगिता आयोजना, पूर्वाधार निर्माण, खेलाडी उत्पादन र प्रोत्साहन लगायतको विभिन्न प्रतियोगिताको नतिजाहरुको मुल्यांकन गर्दै एक स्थानीय तहलाई सम्मान गर्दै आइरहेको छ । बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण, फुटबल एकेडेमी सञ्चालन र राष्ट्रियस्तरको गोल्डकप सञ्चालन गर्दै आइरहेको छ । राखेपले आफ्नो वार्षिकोत्सवमा ५ खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको छ ।

Exit mobile version