हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको बताउनुभएको छ । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारका १० लाख रुपैयाँभन्दा माथिका सबै योजना टेण्डर प्रक्रियाबाटै अघि बढाइने बताउनुभयो ।
निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले १० लाख माथिका प्रदेशका योजनाहरु टेण्डरमा लाने विषय प्रदेशसभाबाटै पारित गरेर लागू गर्ने बताउनुभयो । निर्माण व्यवसायीहरु ‘लो बिडिङ’ (अत्यधिक घटेर ठेक्का हाल्नुपर्ने) बाध्यताले कंगाल बन्न लागेको मुख्यमन्त्री बानियाँले बताउनुभयो । उक्त विषयलाई रोक्न सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने उहाँको भनाई छ ।
‘उपभोक्ता समितिको काममा समस्या देखियो । त्यसैले अब प्रदेशको १० लाखभन्दा माथिका सबै काम टेण्डरबाटै हुन्छ’, मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘सोही अनुसार मन्त्रालयहरुलाई टेण्डरको तयारी गर्न निर्देशन दिइएको छ । निर्माण व्यवसायीहरु अहिले बाँच्नकै लागि ६०/७० प्रतिशतसम्म घटेर ठेक्का हाल्नुपर्ने अवस्था छ । मोबिलाइजेसन लिएर बैंकको ऋण तिर्नुपर्ने बाध्यता छ । यो समस्या समाधान गर्न ‘एभरेज बिडिङ’ को अवधारणा ल्याउने प्रक्रियामा सरकार अग्रसर हुनुपर्छ । चाँडै नै ऐन संशोधन गरेर सरकारले सो समस्या हल गर्नुपर्छ ।’
उहाँका अनुसार राज्य सञ्चालनमा रहँदा स्वार्थको द्वन्द्व अन्त्यका लागि आफ्नो स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ परिवारका सदस्यको नाममा नामसारी गरिसकेको छ । मुख्यमन्त्री बानियाँले ‘भ्रष्टाचारमुक्त बागमती प्रदेश’ बनाउने आफ्नो अभियानमा रहेकाले सबैले साथ दिन आग्रह गर्नुभयो । कामको गुणस्तरमा कुनै सम्झौता नगर्न उहाँले निर्माण व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।
‘वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी मैले स्वार्थ नबाझियोस् भनेर छाडेको छु । अब म स्वतन्त्र रुपमा आम नागरिकको समस्या समाधानमा लाग्नेछु । मैले सुशासनयुक्त प्रदेश निर्माणको अभियान थालेको छु । निर्माण व्यवसायीहरुले पनि त्यसमा सहयोग गर्नुपर्छ । ठेक्काहरुमा हिजो ८ वटा रड हाल्ने ठाउँमा ६ वटा हाल्ने दिन अन्त्य भएको छ । अब प्रविधिले सबै कुरा पत्ता लगाउँछ । इस्टिमेटअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवै कारबाहीको दायरामा आउँछन् । व्यवसायीहरुको काममा एकछिन पनि ढिलाइ हुँदैन । तर काम पारदर्शी र गुणस्तरीय हुनुपर्यो’, उहाँले भन्नुभयो ।










