हेटौंडाः बागमती प्रदेशमा मानवअधिकारको अवस्थाका बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अन्तरक्रियाको आयोजना गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीको उपस्थितिमा बुधबार सरोकारवालाको सहभागितामा अन्तरक्रियाको आयोजना गरेको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण लकडाउन घोषणा गरेयता मकवानपुर जिल्लासँगै बागमती प्रदेशको अवस्थाका बारेमा छलफल भएको थियो । लकडाउन यता मानवअधिकारको सन्दर्भमा घरेलु हिंसा, लैंगिक विभेद, महंगी, रोजगारीको अवसर गुम्नुका साथै भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले पत्रकारहरुले रोजगारी गुमाउनु परेको गुनासो गर्नुभयो । वर्षौं योगदान गरेको संस्थाले २/३ महिना समस्या हुँदा पारिश्रमिक नदिने, रोजगारी नै खोस्ने जस्तो गम्भीर कार्य भएको उहाँको भनाइ थियो ।

अधिवक्ता अप्सरा बस्नेतले लकडाउनको समयमा घरेलु हिंसाका घटना उल्लेख्य भएको र घरेलु हिंसाको प्रभाव स्वरुप अहिले दैनिक ५ वटासम्म सम्बन्ध विच्छेदका मुद्दा दर्ता भइरहेको जानकारी दिनुभयो ।
माईती नेपाल मकवानपुरकी संयोजक माया लामाले लकडाउनका बेलामा घरेलु हिंसाका घटनासँगै मानव बेचबिखनका घटना पनि प्रसस्त भएको जानकारी दिनुभयो । सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले बालविवाहका घटना अत्यधिक संख्यामा भएको बताउनुभयो । अधिकारकर्मी कमलकुमार विश्वकर्माले रोजगारीका लागि विदेश गएर संकटमा परी घर फकँदा छिमेकी र टोलसमुदायले अपहेलनाका घटना पनि चिन्ताको विषय भएको बताउनुभयो ।

अन्तरक्रियामा सहभागीका कुरा सुनिसकेपछि राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले राहतलाई सम्मानजनक बनाउन नसक्नु, नागरिकता भएकालाई मात्रै राहत वितरण गर्नु मानवअधिकारका दृष्टिकोणले आपत्तिजनक कार्य भएको भन्दै निराशा व्यक्त गर्नुभयो । इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख कृष्ण गौतमले लकडाउनका कारण नागरिकको दैनिकी कष्टकर भएको र मानवअधिकार उल्लंघनका बहुआयामिक समस्या देखिएको भन्दै मानव अधिकार आयोगका अधिकारीको उपस्थितिमा अन्तरक्रियाको प्रयास गरिएको बताउनुभयो ।