हेटौंडाः मकवानपुर प्रहरीले थाहा नगरपालिका–७, खर्कबाट एउटा अटोबाट लागूऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ । आइतबार बिहान साढे ६ बजेको समयमा मकवानपुर जिल्लाको थाहा नगरपालिकाको चित्लाङबाट काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकातर्फ जाँदै गरेको प्र. नं. ३–०३–००१ ह ०२५९ नम्बरको अटोबाट मकवानपुर प्रहरीले चरेश बरामद गरेको जनाएको छ । प्रहरीले १२ केजी ९३२ ग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

लागूऔषध चरेशसहित अटोमा सवार रहेका मकवानपुर जिल्लाको थाहा नगरपालिका–७ महादेवखर्कका ३० वर्षीय शुभराज घलान, छापटोलका ३३ वर्षीय नारायण सिं मुक्तान र फेदीगाउँ देउरालीका ४७ वर्षीय अटोचालक कृष्ण बहादुर गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोको सिट मुनी लुकाई राखेको अवस्थामा लागूऔषध चरेश बरामद भएको हो । लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।