पाइपलाइन मर्मत गर्दै बोर्डका प्राविधिक कर्मचारी ।

हेटौँडा : सडक मर्मतको क्रममा क्षति पुगेको पाइपलाइन बिहीबार मध्यरातसम्ममा मर्मत गरिएपछि हेटौँडा उपमहानगरको ५ वटा वडामा अवरुद्ध भएको खानेपानी वितरण कार्य नियमित भएको छ । हेटौँडा–१, तिर्तिरे धारादेखि करिब एक सय मिटर उत्तरतर्फ क्षति पुगेको पाइपलाइन बिहीबार राती १ बजेसम्ममा मर्मत सकेर वितरण सुचारु गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

सडकभन्दा तल्लो भागमा टेवा पर्खाल निर्माणको क्रममा बिहीबार दिउँसो खानेपानीको पाइपलाइनमा क्षति पुगेको थियो । पाइपलाइनमा क्षति पुग्दा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको मुख्य खानेपानीको स्रोत सामरी समवेल र बुङ्गदल मुहानबाट उत्पादित पानी वितरण प्रभावित भएको थियो । पाइपलाइनमा क्षति पुग्दा हेटौँडाको १, २, ४, ५ र १० नम्बर वडाका केही भागमा पानी वितरण कार्य अवरुद्ध भएको थियो । शुक्रबार बिहानबाट हेटौँडा मुख्य बजार क्षेत्रमा नियमित खानेपानी वितरण सुचारु भएको छ । पाइपलाइन मर्मतका लागि हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टसहित बोर्डका २५ जना कर्मचारी मध्यरातसम्म खटिएका थिए ।