गत असोज ११ र १२ गतेको अविरल वर्षाले बागमती तथा कोशी प्रदेशमा व्यापक क्षति पुर्यायो । मनसुन सक्रिय भएर परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो, डुबान र कटानले ठूलो विपद्को अवस्था सिर्जना गर्यो । सरकारले तीन दिन आधा झण्डा झुकाएर राष्ट्रिय शोक नै मनायो । वर्षाले बढी क्षति भएको १२ जिल्लाका ४१ स्थानीय तहलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट बढी प्रभावित कोशी प्रदेशका ३ र बागमती प्रदेशका ९ जिल्लाका ती स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । उक्त बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । एक सय ७९ जना घाइते भएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्दार गरिएको छ । बाढी, पहिरो र कटानबाट दर्जनौं राजमार्ग र सडकखण्डमा क्षति पुगेको छ । अझै केही सडकखण्ड अवरुद्ध नै छन् ।

बाढी, पहिरो र कटानका कारण काठमाडौं जोड्ने सबै सडक अवरुद्ध भएका थिए । अवरुद्ध सडकमध्ये कान्तिलोकपथ, बीपी लोकमार्ग र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै सुचारु हुन सकेको छैन । सुनकोशी नदीमा पुल बगाएका कारण सिन्धुलीको खुर्कोटबाट रामेछाप जोड्ने सडक, उदयपुरबाट फोक्सिङटार हुँदै खोटाङ जोड्ने सडक र अरनिको राजमार्गको तातोपानीतर्फको सडक खण्ड पनि अवरुद्ध नै छ । भारी वर्षाले क्षति पुर्याएको दुई दिनमै त्रिभुवन राजपथ र थानकोट–चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । पृथ्वी राजमार्गमा धेरै ठाउँमा पहिरो गएका कारण बेलाबेलामा सडक अवरुद्ध हुने सुचारु हुने क्रम चलिरहेको छ । अरनिको राजमार्ग र पासाङल्हामु मार्ग पनि सुचारु भइसकेका छन् । प्रदेश सरकारको तदारुकतासँगै फर्पिङ–फाखेल–कुलेखानी सडक सुचारु भएको छ । सामान्य क्षति भएको ठाउँमा मर्मत र बढी क्षति भएको ठाउँमा डाइभर्सन निर्माण गरेर सडक सुचारु पारिएको हो ।

भारी वर्षाका कारण व्यापक क्षति भएका सडक खण्डहरु स्थानीय, प्रदेश र संघीय सरकारको पहलमा सुचारु हुँदै गएका छन् । तीन तहको सरकार भएका कारण साधन, स्रोत व्यवस्थापन र परिचालनमा सहज भएका कारण अवरुद्ध सडक खण्ड छिट्टै मर्मत गरी सञ्चालनमा आएका हुन् । बाढीले कटान गरेर बन्द कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालनमा आएको छ । बाढी र पहिरोले विभिन्न स्थानमा क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौंडा–काठमाडौं छोटो दुरीको उक्त सडक खण्ड ३ ठाउँमा डाइभर्सन गरेर सञ्चालनमा ल्याइएको छ । सो सडकखण्डको कुलेखानी ड्याम नजिकैको पुल, महालक्ष्मी खोला पुल र महालक्ष्मी खोलाको कटान क्षेत्रमा डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका साथै सुरक्षा निकायसमेतको सक्रियतामा सडक मर्मत गरिएको छ । दिउँसोबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकको पनि दक्षिणकालीबाट सिस्नेरीसम्मको अवरोध हटाइसकेको छ भने कुलेखानी–सिस्नेरी खण्डमा खोलाबाट डाइभर्सन गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको हो ।

विगतमा बाढी पहिरोले अवरुद्ध सडक मर्मतमा निकै समय लाग्ने गरेकोमा यस पटक धेरै क्षति भएको भए पनि अवरुद्ध सडक सञ्जाल छिट्टै सुचारु भएका छन् । दशैंको मुखमै सडक अवरुद्ध भएका कारण पनि तीनै तहको सरकारले सडक सुचारु गर्न तदारुकता देखाएको हो । हेटौंडा–काठमाडौं जोड्ने ७ वटा सडक खण्ड रहेकोमा असोज ११ र १२ गतेको भारी वर्षाले सबै सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकमध्ये ४ वटा सुचारु भएका छन् भने चखेल–मातातीर्थ, कुलेखानी–सिस्नेरी र कान्ति लोकपथ अझै सञ्चालनमा आएको छैन । दशैंको समयमा बढ्ने सवारी चापलाई मध्यनजर गरेर यात्रुको सहजताका लागि सञ्चालन भएका सडकमा अवरोध हुन नदिने र अवरुद्ध सबै सडक खण्ड सञ्चालन गर्नेतर्फ सरकारले विशेष ध्यान दिनु आवश्यक छ ।