कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिएको दृश्य ।

हेटौंडाः निरन्तरको वर्षापछि भरिएको कुलेखानी जलाशय ५ मिटर घटाएको छ । विद्युत उत्पादन र बाँधका २ वटा ढोका खोलेर कुलेखानी जलाशय ५ मिटर घटाइएको हो ।

हाल कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७.६० मापन गरिएको छ । बिहान ५ बजेको समयमा कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएको थियो । उक्त समयमा जलाशयमा पानीको सतह १ हजार ५३१ मिटर मापन गरिएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार १० घण्टामा ५ मिटर पानी घटाइएको छ ।

हाल जलाशयको बाँधको २ वटै ढोका खुल्ला गरिएको छ । बाँधका २ वटा ढोका २ मिटर खुल्ला गरेर पानीको सतह सन्तुलनमा राखिएको उहाँको भनाई छ । ३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ । शुक्रबार दिनभरको वर्षाले कुलेखानी भरिने चरणमा पुगेको थियो । शुक्रबार ५ बजेसम्ममा पानीको सतह १ हजार ५२५ मिटर मापन गरिएको कुलेखानीमा शनिबार बिहान जलाशय भरिएर ओभर फ्लो भएको थियो ।

‘अहिले कुलेखानीको जल सतह स्थिर रहेको छ । जलाधारबाट पानी संकलन भएको अनुपातमा नै बाहिर पठाइएको छ । बाँधका ढोका २ मिटर खुल्ला गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘कुलेखानीको जलाधार क्षेत्रमा पानी परिनै रहेकाले जलाशयमा पानीको सतह बढ्ने भएकाले ढोका खुल्ला नै गरिएको हो । वर्षा भइरहेकाले पनि जलाशयमा पानी थप जम्मा गर्ने अवस्था छैन ।’

३ वटै विद्युत गृह पूर्ण क्षमतामा संचालन

कुलेखानीको जल सतह घटाउन ३ वटै विद्युत उत्पादन केन्द्र पूर्ण क्षमतामा संचादन गरिएको छ । जलाशयमा पानीको मात्र बढ्दै गएपछि शुक्रबार साँझबाट विद्युत उत्पादन थालिएको थियो ।

आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको पानीबाट पूर्ण क्षमतामा संचालन गरिएको छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए । तीन वटै आयोजनाहरु पूर्ण क्षमतामा निरन्तर संचालनमा रहेको उहाँले बताउनुभयो ।

मुलुकमा मागभन्दा कम विद्युत् उत्पादन भएका बखत मात्र सो आयोजना संचालन गरिन्छ । यसपटकको वर्षाका कारण बाँध भरिएर जोखिम बढेपछि व्दिुत उत्पादन नियमित गरिएको हो । ४ दिन अघि ७०० मेगावाट विद्युत् उत्पादन गरिएको कुलेखानीबाट जोखिम घटाउन कुलेखानी पहिलो आयोजना सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ ।