हेटौँडाः हेटौँडा उपमहानगरपालिका कार्यपालिकाको बैठक भदौ २८ गते शुक्रबार बोलाउने निर्णय भएको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले भदौ २८ गते शुक्रबार दिनको २ बजे नगरसभा बोलाउने निर्णय गरेको वडाअध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजश्वको दरमा अस्वभाविक वृद्धि गरेको भन्दै नगरवासी र व्यवसायी आन्दोलित भएपछि विशेष नगरसभा बोलाएर नगरवासी र व्यवसायीको माग सम्बोधन गर्न उपमहानगर सहमत भएको थियो । नगरवासी र व्यवसायीको विरोधपछि नगरसभाको बहुमत सदस्यले गत साउन ३० गते विशेष नगरसभाको माग गर्दै नगरप्रमुख समक्ष निवेदन समेत दर्ता गराएका थिए ।
कानुनबमोजिम विशेष नगरसभा बोलाउन नगरप्रमुख, उपप्रमुख बाध्य भए पनि राजश्वको दर साविककै कायम राख्ने विषयलाई नगरसभाले आवश्यक निर्णय गर्ने विषयमा भने आशंका गरिएको छ । नगर कार्यपालिकाकै एक सदस्यले विशेष नगरसभा बोलाइए पनि नगरसभाबाट राजश्वको दर साविककै कायम गर्ने गरी निर्णय गर्ने पक्षमा नगरप्रमुख र उपप्रमुख नदेखिएको बताउनुभयो ।
“कानुनी बाध्यताका कारण विशेष नगरसभा बोलाउन उहाँहरु (नगरप्रमुख, उपप्रमुख) बाध्य हुनुभएको हो”, कार्यपालिका सदस्यले भन्नुभयो, “नगरसभाले कार्यदल बनाएर जाने भन्ने कुरो छ । मकवानपुर उद्योग वाणिज्य संघसँग गरेको सहमतिअनुसार राजश्वको दर साविककै कायम राख्ने विषयमा भने उहाँहरु तयार देखिनु हुन्न ।”