बालबालिकाको सुरुवाती वर्षहरुमा गरिने लगानीले बालबालिका, परिवार र समुदायले नै दीर्घकालपछि सकारात्मक लाभ प्राप्त गर्र्छ । जसरी कुनै एउटा विरुवा रोपेर आजको भोलि नै त्यसको फल खान पाइँदैन, त्यसका लागि केहि वर्ष कुर्नु पर्ने हुन्छ, त्यस्तै बालबालिकामा गरिने लगानीको प्रतिफल केही वर्षपछि मात्र देख्न सकिन्छ । त्यस्तै बालबालिकाको स्वास्थ्य र उनीहरु ठूलो भइसकेपछि दिन सक्ने उत्पादन, उनीहरुले जन्माउने सन्तानहरुको स्वास्थ्यसम्म गरिने दिर्घकालिन लगानी हो ।

मानिस एक चेतनशील, सामाजिक प्राणी हो । उसले आफु बाँच्नका लागि आफ्नो स्तरबाट हरेक प्रयास गर्दछ । तर उसलाई समाजमा रहेको चलन, रहनसहन, धर्म, संस्कृति, परम्परा, मूल्य, मान्यता, आर्थिक स्थितिले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा प्रभाव पारिरहेको हुन्छ । जसले गर्दा उनिहरु चाहेर पनि आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ भन्ने पनि थाहा हुँदैन । बालअधिकार भित्र स्वस्थ रहन पाउनु, स्वच्छ, खाना खान, पानी पिउन पाउनु, बालविवाह नगर्नु, बाल हिंसा तथा बालश्रमबाट मुक्त हुनु पनि बालअधिकार भित्र पर्दछ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा सुधार ल्याउन सबै क्षेत्रको भूमिका रहेको हुन्छ । त्यसै राष्ट्रले गरेको विद्यालय नर्स कार्यक्रम एकदम तारिफयोग्य छ । व्यवहार परिवर्तनले कुनै पनि व्यक्तिको ज्ञान, अभ्यासमा परिवर्तन गरेर स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ । व्यवहार परिवर्तन ल्याउनमा विद्यालय नर्सको ठूलो भूमिका रहेको छ । विद्यालय नर्स भनेको यस्तो व्यक्ति हो जो विद्यालयको साना बालकहरुदेखि लिएर समुदायको अभिभावकसम्म जोडिएको हुन्छ । हरेक बालबालिकाको राम्रो स्वास्थ्य, सामाजिक तथा आर्थिक रुपमा उत्पादनशील र प्रवद्र्धनात्मक, प्रतिकारात्मक, प्राथमिक उपचार, परामर्श, प्रेषण सेवा, विशेष आवश्यकताको सेवा र समसामयिक विषयका स्वास्थ्य सेवा दिई व्यवहारमा परिवर्तन गरी स्वास्थ्यमा सुधार ल्याउनु विद्यालय नर्सको लक्ष्य रहेको छ । साथै सरकारद्वारा जनताका लागि गरेको विभिन्न खालको स्वास्थ्य सम्बन्धी कार्यक्रम राम्रोसँग सञ्चालन भए नभएको र विद्यालयस्तरमा भएको कार्यक्रमहरुलाई उचित तरिकाले गर्नु र त्यसको प्रतिफलको रेखदेख गर्ने, उचित ढङ्गले चलाउनमा पनि विद्यालय नर्सको ठूलो हात रहेको हुन्छ ।

बालबालिकाको पोषण चुनौतिको रुपमा रहेको छ । बालबालिकाको मृत्यु र बिरामी हुनुको कारण कुपोषण प्रमुख रहेको छ । किशोर–किशोरीको स्वास्थ्यमा सुधार र पोषण सम्बन्धी समस्याको समाधान र रोकथामका लागि सरकारले दिवा खाजा, आइरन, फोलिक एसिड, चक्की विवरण, जुकाको औषधी विवरण जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यस्ता कार्यक्रमहरुलाई राम्रोसँग विद्यालय नर्सको भूमिका रहेको छ । दिवा खाजा पनि एउटा तहबाट कुपोषणमा रोक लगाउनका लागि राखिएको कार्यक्रम हो । कतिपय बच्चाहरु आर्थिक अवस्थाका कारण भोकै स्कुल आउन बाध्य छन् ।

धेरै टाढा नगई चितवनको कृष्णनगर माविमा हेर्ने हो भने पनि यस्ता कति विद्यार्थी छन् जो एक घण्टा भोको पेट हिँडेर पढ्न आउने गर्छन् । एक घण्टा खोला छेउ हिँडेर आएर पढ्ने भोक स्कूल आएर मेट्दछन् तर पेटको भोक कसरी मेट्ने ? दिवा खाजा पनि कक्षा पाँच सम्मको रहेको छ । आर्थिक स्थिति हेरी छानविन गरी कक्षा पाँच भन्दा माथिको त्यस्तो वर्गका विद्यार्थीलाई पनि खाजाको पहल गर्न आवश्यक छ । खाजाको कार्यक्रम मात्र बनाएर पनि भएन के खाजा खुवाइन्छ, खाजा बनाउँदा सरसफाइको ध्यान, वितरण गर्ने तरिका, वितरण गरिसकेपछिको सरसफाई सबै कुरा ध्यानमा राख्न जरुरी छ र साथै के खाजा खुवाउने भन्ने कुरा पनि महत्वपूर्ण रहेको छ ।

म यस कृष्णनगर स्कुलमा विद्यालय नर्स भएर आउँदा खाजा बनाउँदा र बनाउने ठाउँमा हुनुपर्ने जति सरसफाई नभएको र खाजा बाँड्ने र खाने ठाउँ पनि व्यवस्थित नगरेको र चाउचाउ पनि खुवाउने गरेको पाइयो । त्यस पश्चात मैले खाजा बनाउने ठाउँ कसरी सफा राख्ने, कसरी सफा गरी पखाल्ने, सफा गरी पकाउने र बाँड्ने भन्ने जानकारी गराएँ र मद्दत गरेँ । साथै विद्यालयका प्रधानाध्यापक, शिक्षक र दिवा खाजा समितिको शिक्षकहरुसँग सल्लाह लिई उनीहरु बसेर खान एउटा कोठामा बेञ्चहरु मिलाएर राखेँ । विहान खाना नखाई आउने र भोकको कारण कतिबेला खाजा खाम भन्ने कारणले विद्यार्थीहरु हात नधोई खाजा खाने गर्दथे ।

विद्यार्थीलाई हात धुन सिकाएर निगरानी राखी सधैं पहिला हात धुन लैजाने र खाजा खाने ठाउँमा लैजाने गरी केही दिनको प्रयासपछि अहिले हात धोएर मात्र खाजा खान जान्छन् र भान्छा पनि कहिले काहिँ पाक्ने चाउचाउ पनि पाक्न रोकिएको छ । हात धुनु पर्ने, खाना बनाउँदा सरसफाईमा ध्यान दिनुपर्ने आदि कुराहरु बच्चाहरुले आफ्नो घरमा पनि सरसफाइमा ध्यानदिनु पर्ने कुराहरु बच्चाहरुले आफ्नो घरमा नि गएर अभिभावकलाई सिकाएको पाइएको छ । यसका साथै व्यक्तिगत सरसफाईमा पनि केही सुधार आएको छ ।

यसका साथ–साथै लागुपदार्थ दुव्र्यसन, महिनावारी स्वच्छता, पोषण, राम्रो छुवाई, नराम्रो छुवाई, साथै बाल हेल्पलाइनहरुको बारेमा जानकारी दिई बालविवाह र शिक्षकहरुमा पनि केहि जागरुकता देखिएको छ । यसैगरी किशोरावस्थामा हुने रक्तअल्पताको समस्या पनि रहेको छ । किशोरावस्थामा हुने रक्तअल्पताले गर्दा उनिहरुले जन्माउने बच्चा पनि कुपोषित हुने र यसको क्रम चलिरहने हुन्छ । कुपोषण नियन्त्रणका लागि सरकारले गरेको कार्यक्रमहरु सञ्चालनमा विद्यालय नर्सको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याइरहेको छ ।

पोषण अवस्थामा सुधार ल्याउन खानाको उपलब्धता र पहुँचमा भर पर्ने भए तापनि पोसिलो खाना खाने सम्बन्धी व्यवहार र ज्ञानले अझ बढी महत्व राख्दछ । पोषणसम्बन्धी जानकारी आइरन चक्की तथा जुकाको औषधि वितरण गर्ने, सरसफाईमा ध्यान पुर्याउनाले रक्तअल्पता साथै अन्य थुप्रै स्वास्थ्य समस्यामा न्युनीकरण गर्न सकिन्छ । गर्भावस्थामा बच्चाहरुको ८० प्रतिशत मस्तिष्कको विकास हुने र किशोरावस्थाबाट नै रोगी भए उसले राष्ट्रलाई उत्पादन दिन नसक्ने र साथै मावि तहमा बच्चाहरुबाट पनि उत्पादनमा ह्रास आउने भएर राष्ट्रले स्वस्थ जनशक्ति प्राप्त गर्न सक्दैन ।

विद्यालय नर्सले पत्रु खानालाई निरुत्साहित गर्ने, पोषण सम्बन्धी शिक्षा दिने, जुकाको अ‍ौषधी वितरण गर्ने, दिवा खाजाको गुणस्तर कायम गर्ने, सर्ने–नसर्ने रोगबारे जानकारी दिने पोषण अवस्था मापन गर्ने, बच्चाको बृद्धि विकास मुल्याङ्कनात्मक गर्ने, प्रवद्र्धनात्मक, उपचारात्मक, प्रेषण जस्ता कार्य गरी स्वास्थ्यमा सुधार ल्याउने हुनाले विद्यालय नर्सको महत्व रहेको छ ।