‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ नेपालमा शुक्रबार ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । करिब ६ दशक अघिदेखि नेपालमा बाल दिवस मनाउन थालिएको हो । पछिल्लो समय भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिएको छ । वि.सं २०२१ सालदेखि प्रत्येक वर्ष भदौ ४ गते मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन थालिएको हो । तत्कालीन मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको जन्मदिनको अवसरमा भदौ ४ गते बाल दिवस मनाइँदै आएकोमा २०६२/०६३ को दोस्रो जनआन्दोनपछि राजा र राजपरिवारसँग जोडिएका प्रचलनहरु हटाउने क्रममा २०६३ सालबाट भदौ २९ गते बाल दिवस मनाउन थालिएको थियो । बालअधिकारलाई मूर्तरुप दिन संयुक्त राष्ट्रसंघले सन् १९८९ नोभेम्बर २० मा बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो । सोही महासन्धिलाई नेपाल सरकारले सन् १९९०, १४ सेप्टेम्बर (२०४७ साल भदौ २९) मा अनुमोदन गरेकाले सोही दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसात गरी राष्ट्रिय बालदिवसको रुपमा मनाउन सुरु गरिएको हो ।
बालबालिकाको अधिकारलाई उजागर गर्न र उनीहरुलाई अधिकार दिलाउन बाल दिवस एउटा सशक्त माध्यम बन्न सक्छ । पछिल्लो समय बाल अधिकारका कुराहरु जताततै महत्वका साथ उठ्ने गरेका छन् । बास्तवमा बालबालिकाले आफ्ना अधिकार पाउनुपर्छ । बालबालिकाको अधिकारका लागि राज्य वा अभिभावक बढी जिम्मेवार बन्नु आवश्यक छ । हुन त सरकारले बालबालिकाको अधिकारका लागि संविधादेखि विभिन्न ऐन, कानुनमा पर्याप्त कानुनी व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ३९ मा बालबालिकासम्बन्धी विभिन्न हकहरु उल्लेख छ । संविधानमा प्रत्येक बालबालिकाले निःशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने उल्लेख भएको भए पनि व्यवहारमा लागू भएको छैन । यस वर्षको बाल दिवसको नाराले पनि बालबालिकाको लागि राज्यले पर्याप्त लगानी गर्नुपर्ने कुरालाई जोड दिएको छ । तर, आधारभूत शिक्षा र स्वास्थ्यजस्ता बाल अधिकारलाई निःशुल्क बनाउन राज्यले आवश्यक लगानी गर्न सकेको पाइँदैन ।
रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । भारतबाट फर्केपछि रत्नद्वारा आफ्नो जन्म दिनपारी वि.सं २०२१ भदौ ४ मा नेपाल बाल संगठन स्थापना गरी बालमन्दिरमार्फत् टुहुरा, अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमितरुपमा बालदिवस मनाउन थालिएको पाइन्छ । ४ भदौका दिनलाई राष्ट्रिय बालदिवसको रुपमा देशले ४२ वटा बालदिवस मनायो । नेपालमा शासन पद्दति र शासकीय व्यवस्थाको परिवर्तनसँगै बाल दिवस मनाउने मिति पनि परिवर्तन भयो । २०६२/०६३ सालको दोस्रो जनआन्दोलनपश्चात् लोकतन्त्रको स्थापनासँगै बालदिवसको मितिलाई पनि परिवर्तन गरेको हो । त्यसपछि प्रत्येक वर्ष भदौ २९ गते यो दिवसलाई देशव्यापीरुपमा मनाउने गरिएको छ ।
प्राविधिकरुपमा जुन दिन बाल दिवस मनाइए पनि यसको सार्थकता महत्वपूर्ण हुन्छ । हरेक वर्ष एक थान नारासहित राष्ट्रिय बाल दिवस मनाइन्छ । बाल दिवसको अवसरमा सार्वजनिक गरिने नाराले महत्वपूर्ण सन्देश दिन्छ । उक्त नारासहित बाल दिवस मनाउने गर्दा बाल अधिकारको सन्दर्भमा सुसूचित गराई बाल अधिकार संरक्षण गर्न पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । तर, नाराअनुकूलको व्यवहार भने सरकार वा अन्य सरोकारवालाबाट हुने गरेको छैन । कानुनी दस्ताबेजमा भएका बालबालिकाको हक तथा अधिकार व्यवहारमा नहुँदा बाल दिवस मनाउनुको सार्थकता बन्न सकिरहेको छैन । यस वर्षको बाल दिवसको नाराले बालबालिकामा लगानी गरियो भने उनीहरुको भविष्य सुनिश्चित हुने तथ्यलाई उजागर गरेको छ । तर, बालबालिकाको लागि तीनै तहको सरकारले पर्याप्त लगानी गर्न नसक्दा यो नारामै सिमित बनेको हो ।