वार्षिकोत्सवको अवसरमा सम्मानित व्यक्तिहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा आवद्ध उपभोक्तालाई खानेपानीको न्यूनतम् महसुलमा छुट दिने व्यवस्था गरेसँगै उपभोक्ता समितिहरु बोर्डमा गाभिन आकर्षित भएका छन् । न्यूनतम महसुल छुट हुने व्यवस्था लागु भएपछि हेटौँडा–१० स्थित न्यूरेनी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, हेटौँडा–१८ स्थित हर्नामाडी डिप बोरिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति र हेटौँडा–६ स्थित कल्याणटार खड्कुले खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा आवद्ध भइसकेका छन् । तीन वटा उपभोक्ता समितिबाट ४ सय ५० घरधुरी बोर्डमा समेटिएको छ ।

यस्तै हेटौँडा–३ स्थित मिलन टोल खानेपानी उपभोक्ता समिति, हेटौँडा–१३ स्थित पदमपोखरी ठूलोथली खानेपानी तथा सरसफाई उपभोक्ता समिति र हेटौँडा–१५ स्थित भोर्ले जाँते पनेस क्षेत्रको खानेपानी उपभोक्ता समितिहरु बोर्डमा हस्तान्तरण हुने क्रममा रहेको बोर्डले जनाएको छ । बोर्डको दसौं स्थापना दिवसको अवसरमा सोमबार बोर्डको कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले उपमहानगरपालिकाको साथ र सहयोगले नगरवासीलाई खानेपानी वितरण गर्न सम्भव भएको बताउनुभयो ।

हेटौँडा खानेपानी बोर्डले अहिले दैनिक एक करोड ८८ लाख लिटर खानेपानी उत्पादन गरेर ३५ हजार ५ सय उपभोक्तालाई वितरण गरिरहेको छ । बोर्डले २६ वटा डिप बोरिङ र ७ वटा जमिनको सतहमा पानी संकलन गरी वितरण गरिरहेको छ । बोर्डको वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगरका सवै घरधुरीमा पानी पुर्याउने योजना रहेको बताउनुभयो । उपमहानगरले दीर्घकालिन योजनाको रुपमा ४ वटा ठूला योजना संघीय सरकार समक्ष पनि पेश गरेको उहाँले बताउनुभयो । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले खानेपानीको सेवा प्रवाहमा विद्युत कटौतिले प्रभावित हुने गरेको बताउनुुभयो ।

उपभोक्ताको तर्फबाट भवसागर श्रेष्ठले २५ प्रतिशतसम्म जरिवानाको व्यवस्था पञ्चायतकालिन भएको र यसलाई संशोधन गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको पनि आतिथ्य रहेको थियो । वार्षिकोत्सवको अवसरमा खानेपानी व्यवस्थापन बोर्डले कर्मचारी, पूर्वकर्मचारीलाई सम्मान समेत गरेको छ ।